धनगढी पोष्ट
सोमबार, २८ भदौ २०७८ मा प्रकाशित
धनगढी । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणत्मक श्रंखलाको पहिलो खेल आज (सोमबार) नेपाल र अमेरिकाविच सुरु हुदैछ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।
नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भावना रहन्छ । त्यसैले नेपाली टोलीको ध्यान नै अमेरिका र ओमानलाई पराजित गर्दै तालिका सुधार गर्ने हुनेछ ।
नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको खेल सजिलो नहुने बताएका छन् । उनले अंक तालिकाको दोस्रो स्थानमा रहेको टिमसँग खेल्न कठिन हुने बताए । नेपालले अन्तिम पटक अमेरिकालाई घरेलु मैदानमा पराजित गरेको थियो ।
यसअघि नेपाली टोलीले लिग–२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण श्रंखला खेलेको थियो । नेपालले दुबै श्रंखला आफ्नो पक्षमा पारेको थियो ।
लिग–२ को शृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन् । खुट्टाको चोटका कारण उनले श्रंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले ४ खेलमा २ जित र २ हार सहित ४ अंकका साथ छैटौ स्थानमा छ । ओमान १० खेलमा ८ जित र २ हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ जित र ६ हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।