एमालेको चुनावी घोषणा पत्र

सीमाको समान रुपले सुरक्षा गर्ने

धनगढी । नेकपा एमालेले नेपाली भुमिको समान रुपले सुरक्षा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई केन्द्रित मंगलबार घोषणापत्र जारी गर्दै नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित जुनसुकै देशसित जोडिएका सीमाको समान रुपले सुरक्षा गर्ने जनाएको हो ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित जुनसुकै देशसित जोडिएका नेपालको सीमाको समान रुपले सुरक्षा गर्ने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

‘नेपालको अखण्डता, सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रतालाई अझ सुदृढ बनाईने छ’ घोषणापत्रमा भनिएको छ –‘नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित जुनसुकै देशसित जोडिएका सीमानको समान रुपले सुरक्षा गरिने छ ।’

एमालेले विभिन्न सन्धी सम्झौताहरु पुनरावलोकन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । भनिएको छ – ‘नेपालको हित संरक्षण र प्रवद्र्धन हुने गरी सन्धी सम्झौता पुरनारावलोकन र संशोधन गरिने छ । आवश्यकता अनुसार नयाँ सन्धी सम्झौता गरिने छ ।’

एमालेले विदेश नीतिका लागि ‘सबैसँग छ, मित्रता, छैन कसैसँग शत्रुता’को नारा अवलम्बन गर्ने बताएको छ ।  विदेश सम्बन्ध संचालन गर्दा सार्वभौम समानताको नीति अवलम्बन गरिने पनि एमालेले उल्लेख गरेको छ ।

छिमेक सम्बन्धलाई प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्ने र राष्ट्रसंघ, क्षेत्रीय तथा बहुपक्षीय संस्था र मंचहरुमा नेपालको हित, स्वाभिमान, प्रतिष्ठा, विश्व शान्ति, मानवता एवं धर्तीको सुरक्षाका पक्षमा दृढतापूर्वक प्रस्तुत हुने पनि एमालेले प्रतिज्ञा गरेको छ ।

एमाले घोषणापत्रमा हरेक जिल्लालाई रणनैतिक सडकसँग जोड्ने उल्लेख छ । दुई वर्षभित्र सबै पालिकाका केन्द्रसम्म पक्की सडक पुर्याउने घोषणापत्रमा उल्लेख छ । ‘निर्माणाधिन राष्ट्रिय राजमार्ग र रणनीतिक सडक ५ वर्षभित्र सम्पन्न गरिनेछ’ घोषणापत्रमा उल्लेख छ ।

यस्तै, घोषणापत्रमा आर्थिक तथा औद्योगिक कोरिडोरहरूको पूर्वाधार निर्माण गरिने उल्लेख छ । ‘सम्भावना भएका बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याइनेछ । साथै, रुग्ण अवस्थामा रहेका उद्योगहरूको सबलीकरण गरी सुसञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।

उत्पादनको प्रतिएकाइ लागत घटाउन एउटै सबल र मितव्यायी व्यवस्थापनबाट समान प्रकृतिका बहुउद्योग सञ्चालन गर्ने कामलाई प्राथमिकता दिइने विषयसमेत घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै, प्रदेशमा रहेका विमानस्थलको स्तरोन्नति र विस्तार गरी क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने घोषणापत्रमा उल्लेख छ ।

प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल स्थापना गर्ने, सिँचाई, खानेपानी, विद्युत, शिक्षाको गुणस्तरमा सुधार, विपद व्यवस्थापन तथा क्षति नियन्त्रण, आधुनिक शहर लगायतका नारा पनि घोषणापत्रमा उल्लेख छ ।

साथै, फोहरमैला व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरिने, फेहोरमैलालाई स्रोतबाटै कुहिने र नकुहिने गरी अनिवार्यरूपमा छुट्याउनुपर्ने दायित्व निर्धारण गरिने एमालेले जनाएको छ । 

यस्तै, रिसाइकल हुन फोहरमैलाबाट पुनः उपयोग गर्न सकिने वस्तु बनाउने, नास हुनेबाट मल तथा ऊर्जा उत्पादन गर्ने र नास नहुनेलाई सुरक्षित तवरबाट नष्ट गर्ने व्यवस्था गरिनेसमेत एमालेको घोषणापत्रमा उल्लेख छ । जसको सहकार्यका लागि निजी क्षेत्रसँग साझेदारी गरिने एमालेले जनाएको छ ।

एमालले स्वच्छ खानेपानी सर्वसुलभ रुपमा उपलब्ध गराउने र सबै परिवारलाई मासिक १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने बताएको छ । 

सबै निर्माणाधिन खानेपानी आयोजना अगामी पाँच वर्षभित्र सम्पन्न गरिने एमालेको प्रतिबद्धता छ । 

साथै, खानेपानीको स्रोत संरक्षण र प्रशोधन दुवै उपाय अवलम्बन गरिने एमालेले जनाएको छ । विकास निर्माण, संरक्षण र प्राकृतिक स्रोतको उपयोग गर्दा पानीको पुर्नभरण अवरुद्ध नहुने व्यवस्था मिलाइने पनि जनाएको छ ।

त्यस्तै, खेतबारीमा पानीः खाडीमा होइन, स्वदेशमै जवानी, दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार, भूमिगत तारः सहर बजार, नो लाइनः सेवा अनलाइन, पाँच लाख रोजगारः न्यूनतम ज्याला २५ हजार, समृद्धिसँगको नाताः सबैको बैंक खाता, स्वस्थ महिनाबारीः १५ सय बर्षभरी, फाइभजी सञ्चारः आइटीमा चमत्कार, हामी सामाजिकः सभ्य नागरिक र हाम्रो अर्थः १०० खर्ब पनि छन् ।