प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

पुगेन मतदाता शिक्षा

धनगढी ।  ‘सात ठाउँमा मत हाल्ने हो, कसलाइ दिने सोच्दै छौं ।’ खेतमै काम गरिरहेकी धनगढी–३ बोराडाँडीकी  श्यामा राना भनिन् । ‘मतदान गर्ने बेलासम्म सोचिसकौला ।’ 

श्यामासँगै काम गरिरहेका अन्य महिलालाई मंसिर–४ मा कसरी मतदान गर्ने भन्ने विषयको कुनै ज्ञान थिएन । स्थानीय तहमा ७ ठाउँमा मतदान गरेको हुँदा आगामी निर्वाचनमा पनि ७ ठाउँमै मतदान गर्नुपर्छ भन्ने उनीहरुको बुझाई थियो । 

गाउँटोलमा श्यामा जस्ता धेरै मानिसलाई अझै पनि मंसिर–४ मा कसरी र कति मतपत्रमा मतदान गर्ने भन्ने कुराको ज्ञान नभएको त्यो एउटा उदाहरण मात्रै हो । सरकार र राजनीतिक दलहरुले मंसिर ४ गते हुने निर्वाचनका लागि तयारी गर्दै गर्दा मतदाता शिक्षालाई महत्व दिएको पाइदैन । तर धेरै मतदातालाई भने कति मतपत्रमा मतदान गर्ने हो भन्ने बारेमा जानकारी छैन् ।

‘उम्मेदवार घरघरमा आएर आफ्नो चुनाव चिन्ह देखाउँदै  हामीलाई भोट दिनुहोला भनेर जान्छन्’ खेतमै काम गर्दै गरेका रामदास रानाले भने, ‘तर कति मत पत्रमा मतदान गर्ने, मतदान गर्ने प्रक्रिया कस्तो हुन्छ भन्ने कुरा उनीहरुले भनेका छैनन्, मतदाताले पनि कसरी मतदान गर्ने भन्ने विषयमा जिज्ञासा राख्ने गरेका छैनन् ।’

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उप महानगरपालिकामा खसेको कुल ६३ हजार ६ सय ७४ मत मध्य नगरप्रमुखमा ११ हजार ७ सय ६९ (१८ प्रतिशत) मत बदर भएको थियो भने, उप प्रमुखमा २३ हजार ९ सय ६८ मत (३७ प्रतिशत) मत बदर भएको थियो । 

मत बदर हुनको प्रमुख कारण मतदाता शिक्षाको अभाव रहेको बोराडाँडीकै स्थानीय तथा सेवा निवृत शिक्षक नारायण पन्थीले बताए । सरकारले सञ्चार माध्याम मार्फत मतदान गर्ने प्रक्रियाका बारेमा केही जानकारी गराएको भए पनि गाउँघरका धेरै मानिस सञ्चार माध्यामको पहुँचमै नरहेको उनी बताउँछन् । ‘खेतबारीमै व्यस्त हुने मानिस सञ्चार माध्यममा जोडिने फर्सद नै पाउँदैनन्,’ पन्थीले भने, ‘निर्वाचन आयोगले ती समुहलाई वेवास्ता गरेको जस्तो देखिएको छ, उम्मेदवारले पनि भोट मात्रै माग्ने तर कसरी मतदान गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गरेका छैनन्, यसले धेरै मत बदर हुन सक्दछन् ।’

अनौपचारिक सेवा केन्द्र इन्सेकका प्रदेश संयोजक खडकराज जोशी पनि मतदाता शिक्षामा कसैले चासो नदिएको बताउँछन् । ‘स्थानीय तहको निर्वाचनमा धेरै मत बदर हुनुको कारण मतदाता शिक्षाको कमी हो भन्ने प्रस्ट छ,’ उनले भने, ‘यस पटक पनि मतदाता शिक्षालाई प्राथमिकतामा पारिएको देखिदैन, मतदाता शिक्षामा जोड नदिए आगामी चुनावमा पनि धेरै मत बदर हुन सक्छन् ।’

निर्वाचनमा मतदाता शिक्षा अपरिहार्य रहेको उनी बताउँछन् । ‘निर्वाचनका लागि राज्यले यति धेरै खर्च गर्दैछ,’ उनले भने, ‘तर भोट दिने जनतालाई यसरी भोट दिनु पर्छ भन्ने कुरा सिकाउन सकिएन भने त्यसले चुनावमा राज्यले गरेको लगानीको प्रतिफल राम्रो नआउन सक्छ ।’ मतदातालाई सचेत बनाउने दायित्व सरकारसंगै घरघरमा जाने उम्मेदवारको पनि हुने उनले बताए ।

घरमै मतदाता शिक्षा दिन सकिदैन : भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्ट घर–घरमा गएर मतदाता शिक्षा प्रदान गर्न नसकिने बताउँछन् । 

आम मतदातालाई मतदान प्रक्रियाबारेमा जानकारी गराउने दाइत्व मतदाता र राजनीतिक दलको पनि हुने उनले बताए । ‘निर्वाचन आयोगले मतपत्रको संख्या यति छ, त्यसमा मतदान गरौं भन्ने जानकारी गराउने हो,’ उनले भने, ‘तर कसरी मतदान गर्ने, कति छाप लगाउने भन्ने कुराको जानकारी उम्मेदवारले आफ्ना मतदातालाई दिन सक्नु पर्दछ, आयोग एक्लै ने सवै गर्न सक्दैन ।’

निर्वाचन आयोगले सामाजिक सञ्जाल तथा सञ्चार माध्यम मार्फत मतदाता शिक्षाको बारेमा जानकारी गराउने गरेको उनले बताए ।  त्यस बाहेक निर्वाचन कार्यालयमा मतदाता शिक्षा केन्द्र राखिएको उनले बताए । ‘मतदान प्रक्रियाका बारेमा जानकारी गराउन निर्वाचन कार्यालय धनगढीमा छुट्टै कक्ष स्थापना गरिएको छ,’ उनले भने, ‘तर त्यहा न त मतदाता नै आउँछन्, न त राजनीतिक दलले नै चासो देखाएका छन् ।’

दलको प्राथमिकतामा परेन मतदाता शिक्षा

धनगढी । आफ्नो पक्षमा मत माग्न जनताको घर दैलोमा धाईरहेका राजनीतिक दल तथा उम्मेदवारले भने मतदाता शिक्षालाई प्राथमिकतामा पार्न सकेका छैनन् । 

‘हामीले यस विषयमा अहिले सम्म त्यति ध्यान दिन सकेका छैनौं’ नेकपा माओबादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज हरी ज्ञावालीले भने, ‘तर यो विषय धेरै संवेदनशिल छ, हामी आगामी दिनमा यस विषयमा छलफल गछौं ।’ कार्तिक १७ गते देखि खुला रुपमा सभा सम्मेलन गर्न पाइने व्यवस्था गरिएको भन्दै उनले सो समयमा गठबन्धनको संयुक्त टिम बनाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल गरिने बताए । 

नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले यस पटक मतदाता शिक्षालाई पनि प्राथमिकतामा राखिने बताए । स्थानीय तहको निर्वाचनमा हामीले त्यता तर्फ खासै ध्यान दिन सकेनौं, जसका कारण धेरै मत बदर भए,’ उनले भने, ‘मंसिर ४ गते हुने निर्वाचनमा त्यसो हुन नदिनका लागि हामी सचेत बनेका छौं, पार्टीको तर्फबाट मतदाता शिक्षा दिन टोलटोलमा युवा परिचालन गरेका छौं ।’

नेकपा एमालेका केन्द्रिय निर्वाचन परिचालन कमिटी सदस्य रण बहादुर चन्दले मतदाता शिक्षाका बारेमा छलफल गरिने बताए । ‘घर दैलोमा जाँदा सवै उम्मेदवारले भोट मात्रै माग्ने गरेका छन्, ’ उनले भने, ‘तर मतदाता शिक्षा अहिलेसम्म प्राथमिकतामा परेको जस्तो लाग्दैन, यस विषयमा सवै पार्टी भित्र छलफल हुनु जरुरी छ ।’ दलहरुले मतदाता शिक्षाका बारेमा जनतालाई प्रष्ट पार्न नसक्दा मत बदर हुने क्रम बढेको चन्द बताउँछन् ।