प्रधानमन्त्री देउवा डडेल्धुरा जाँदै

धनगढी । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भोली (बिहिबार) देखि आफनो निर्वाचन क्षेत्रमा खटिने भएका छन् ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतदान आउन १७ दिन बाँकी रहँदा जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका प्रधानमन्त्री देउवा आफनो निर्वाचन क्षेत्रमा खटिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रधानमन्त्री देउवा आज (बुधबार) बेलुका धनगढी पुग्ने कार्यक्रम रहेको नेपाली काँग्रेस कैलालीले जनाएको छ । 

‘प्रधानमन्त्री आज बेलुकी धनगढी पुग्नुहुन्छ’ नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भने –‘धनगढीमा उहाँको विशेष कार्यक्रम केही छैन् । भोली डडेल्धुरा जानुहुनेछ ।’

प्रधानमन्त्री देउवा उम्मेदवार भएपनि अहिलेसम्म आफनो निर्वाचन क्षेत्रमा नपुगेको आरोप लाग्दै आएको छ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त भए पनि देउवा भने अहिलेसम्म आफ्नो क्षेत्रमा पुगेका छैनन् ।

हरेक निर्वाचनमा स्थानीय कांग्रेस कार्यकर्ताबाट मनोनयन दर्ता गराउने देउवाले यस पटक श्रीमती आरजु राणा देउवा मार्फत उम्मेदवारी दर्ता गराएका थिए । देउवाको सन्देश लिएर मनोनयन दर्ता गर्न डडेलधुरा आइपुगेकी आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्किएकी थिइन् । 

देउवा एक साता अघि सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण भेलामा सहभागी हुन धनगढी आइपुगेका थिए । तर, आफनो निर्वाचन क्षेत्र नपुगि फर्केका थिए । स्थानीय तहको निर्वाचनपछि देउवा एक साता अघि मात्र सुदूरपश्चिम पुगेका थिए ।

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेस (बीपी) बाट, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्रमा लालबहादुर खडायत, कर्णसिंह रावल र सागर ढकाल चुनावी प्रतिष्पर्धामा रहेका छन् ।