डडेल्धुरा पुगेर देउवाले भने– ओलीले संविधान च्यात्न खोजे, हामीले बचायौँ

धनगढी । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान च्यात्न खोजेको र आफूहरुले बचाएको बताएका छन्। 

बिहीबार डडेल्धुरामा सत्ता गठबन्धनका दलहरुद्वारा आयोजित सभामा सम्बोधन गर्दै उनले लोकतन्त्र, संघीयता र गणतन्त्र पनि बचाएको बताए।

‘अब हामी केही वर्षसम्म सँगै काम गर्ने र सँगै जाने लोक संस्कृतिको पद्धति विकास गर्न जरुरी छ। त्यसमा हामी लागेका छौँ। हिजो को कहाँ थियौँ, के थियौँ भनेर खोज्न जरुरी छैन। राजनीतिमा असम्भव कुरा हुन्छ। राजनीतिमा स्थायी शत्रु पनि हुँदैन, स्थायी मित्र पनि हुँदैन,’ देउवाले भने।

देउवाले तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटकसम्म लहडमा प्रतिनिधि सभा विघटन गरेको भन्दै आलोचना गरे। राष्ट्रपतिलाई राति २ बजे उठाएरसमेत प्रतिनिधि सभा विघटन गरिएको देउवाको भनाइ थियो। ’उहाँको अति अत्याचार भएपछि हामीले उहाँलाई हटाएर अगाडि बढ्यौँ,’ देउवाले भने।

आफूलाई पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतले प्रधानमन्त्री बनाएको देउवाले दोहोर्याए। ‘वास्तवमा भन्ने यो भने यसपटक मेरो प्रधानमन्त्री बन्ने इच्छा नै थिएन। उहाँहरू सबैले मलाई प्रधानमन्त्री बनाउनुभएको हो। अन्यन्त राम्रो सहयोग प्राप्त भएको छ,’ उनले भने।

देउवाले नेपालमा गठबन्धनको संस्कृति सुरु भएको र पार्टीहरू मिलेर जानुपर्ने अवस्था रहेको बताए। आफूहरुको अलगअलग विचार र सिद्धान्त भए पनि सबैको विचार र सिद्धान्तलाई सम्मान गर्दै मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो। ‘त्यसको विकल्प छैन,’ उनले भने।