कैलालीका दुई वटा पुल नबनाउने ठेकेदारलाई भएको कारबाही बारे जानकारी पठाउन निर्देशन

धनगढी

   संसदको विकास तथा प्रविधि समितिले देशका विभिन्न ठाउँमा पुल निर्माणको ठेक्का पाएर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई के कस्तो कारबाही गरियो त्यसको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

   जसमा कैलालीमा अलपत्र परेका  दुई वटा पुलका ठेकेदार पनि परेका छन् । आइतबार बसेको समितिको बैठकले ठेक्का पाएर वर्षौ सम्म काम सम्पन्न नगरेका ठेकेदारलाई कानुनी दायरामा ल्याउन सरकारी प्रयासबारे सात दिनभित्र जानकारी गराउन निर्देशन दिएको हो ।

   समितिले कैलालीको कान्द्रा पुल, धनगढीको मोहोना पुल र डडेल्धुराको रंगुन पुल निर्माण अलपत्र पार्ने ठेकेदारलाई भएको कारबाहीबारे जानकारी गराउन भनेको छ । यसैगरी काठमाडौँको टेकु स्थित विष्णुमति पुल, तीनकुनेको बागमति पुल, हुलाकी राजमार्ग अन्तरगतको बागमती पुल, रौतहतको टिकुलियाघाट र समनपुर पुल, सतिघाट पुल, निर्माण अलपत्र पार्ने ठेकेदारलाई भएको कारबाहीबारे पनि जानकारी गराउन निर्देशन दिइएको छ ।

  समितिको निर्देशनमा भनिएको छ –‘महत्वपूर्ण पुलहरुको निर्माणको कार्य तोकिएको समयमा गुणस्तरीय रुपमा सम्पन्न हुन नसकेको र प्राविधि पक्षमा गम्भीर त्रुटी हुन गएको विषयमा सम्बद्ध जिम्मेवार पक्षहरुलाई मन्त्रालयबाट के कस्तो कारबाही गरियो त्यसको विवरण सात दिनभित्र समितिमा उपलब्ध गराउन र उल्लेखित पुलहरुको निर्माण कार्यको सुनिश्चित हुने कार्ययोजना बनाइ कार्यान्वयन गर्न साथै उक्त परियोजना १५ दिनभित्र समितिमा उपलब्ध गराउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।