प्रधानमन्त्री कपको सेमिफाइनलबाटै बाहिरियो सुदूरपश्चिम

प्रधानमन्त्री कपको सेमिफाइनलबाटै बाहिरियो सुदूरपश्चिम

धनगढी । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली सेमिफाइदन चरणबाटै बाहिरिएको छ ।
सोमबार सम्पन्न दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशी प्रदेश फाइनल प्रवेश गरेको छ । कोशीले अब उपाधिका लागि बुधबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । कोशीका लागि काजल श्रेष्ठ ३८ रनमा अविजित रहिन् । ३५ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ र अप्सरी बेगम १२ रनमा अविजित रहिन् ।
सुदूरपश्चिमका लागि एक मात्र विकेट लक्ष्मी साउदले लिइन् । टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाएकी थिइन् । त्यस्तै कविता जोशीले १५ र बिन्दु रावलले १७ रन बनाइन् ।
कोशीका लागि स्पिनर संगीता राईले सर्वाधिक २ विकेट लिइन् । सवनम राई, निशा शाह र अलिशा खडियाले १÷१ विकेट लिए । आइतबार भएको पहिलो क्वालिफायर्समा कोशीलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल पुगेको थियो । गत वर्ष कोशीलाई पराजित गर्दै उपाधि जितेको सुदूरपश्चिम यस पटक दोस्रो एलिमिनेटरबाटै बाहिरिएको हो ।