जोन्सनको विवाहबारे प्रधानमन्त्री कार्यालयले भने सूचना नदिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
धनगढी पोष्ट
आइतबार, १६ जेठ २०७८ मा प्रकाशित
काठमाण्डौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘गुपचुप’विवाह गरेका छन् । ५६ वर्षीय जोन्सनले आफु भन्दा २३ वर्ष कान्छी प्रेमिका सिमोन्ड्ससँग शनिबार विवाह गरेको त्यहाँस्थित पत्रपत्रिकाहरुले उल्लेख गरेका छन् । यसपछि जोन्सनलाई काम र निर्वित्तिभरण सम्बन्धी मन्त्री टेरेज कोफी र नर्दन आयरल्याण्डकी प्रथम मन्त्री अर्लिन फोस्टरले ट्वीट गर्दै उनीहरूको विवाहका लागि बधाई दिएका छन् ।
वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख छ । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिस मात्र सहभागी हुन पाइन्छ ।
जोन्सनको विवाहबारे प्रधानमन्त्री कार्यालयले भने सूचना नदिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए । उनीहरूले आफ्नो सम्बन्धबारे सन २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन् ।
जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए ।