युएईमा पाँच महिनामा कोरोनाले ३६ सहित ११० नेपालीको मृत्यु

काठमाडौं

  युएईमा पछिल्लो पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीले ज्यान गुमाएका छन् । ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक छ ।

  ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोनाका कारण १ जना महिला सहित ३६ जना नेपालीले युएईमा ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउने ३६ जना र अन्य कारणले ज्यान गुमाएका समेत गरी ६९ जनाको शव युएईमै अन्त्येष्टि गरिएको छ ।

 दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवलाई युएईमै अन्त्येष्टि गरिएको हो । कोरोनाबाहेकका कारण ज्यान गुमाएकाहरुको शव लामो समयसम्म यहीँ अड्किएको र हवाई उडान ठप्प भएपछि यहीँ रहेका आफन्तले अन्तिम संस्कार गरेका हुन् । यसक्रममा २६ वटा शव भने नेपाल पठाइएको   छ । चारवटा शव नेपाल पठाउने क्रममा छ । ११ वटा शवको भने विस्तृत रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको   छ ।