धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक हजार भन्दा बढी

काठमाडौं

   पछिल्ला केही दिन यता भारतमा संक्रमितको संख्या हरेक दिन ७० हजार भन्दा धेरैले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि दैनिक एक हजार भन्दा धेरै छ ।

   पछिल्लो २४ घण्टामा  भारतमा कोरोना संक्रमणका कारण १ हजार ६५ जनाको मृत्यु भएको छ । बुधबार १ हजार १६ र मंगलबार १ हजार १७ जनाको मृत्यु भएको  थियो ।

  अहिलेसम्म ३२ लाख ४९ हजार ७ सयभन्दा धेरै संक्रमित रहेको भारतमा ६० हजार ४ सय ७२ जनाको मृत्यु भइसकेको छ ।

  भारतमा एकैदिन झण्डै ७७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहीबार एकैदिन ७६ हजार ८ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यो एकैदिन थपिने संक्रमितको संख्या मध्ये अहिलेसम्मकै उच्च संख्या हो । यसअघि गएको बुधबार ७५ हजार ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा नयाँ संक्रमितको संख्याले हरेक दिन नयाँ रेडर्क बनाउँदै आएको  छ ।