विश्व पर्यटन दिवस

सरकार र नीजि क्षेत्रको सहकार्यः पर्यटनको आधार

कैलालीमा होटल व्यवसायको अवस्था राम्रो छ । होटल व्यवसाय र पर्यटन व्यवसाय एक अर्काका परिपुरक हुन् । जबसम्म स्तरीय होटल हुँदैन, तबसम्म पर्यटन प्रवद्र्धन गर्न गाह्रो हुन्छ । स्तरीय होटल तथा कुनै पनि होटल व्यवसायलाई निर्दिष्ट गति दिनका लागि पर्यटन प्रवद्र्धन हुनुपर्ने हुन्छ । होटल र पर्यटन व्यवसायको सम्बन्ध नङ र मासु जस्तै छ । यस क्षेत्रको आर्थिक समृद्धि गर्नका लागि पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारका लागि होटल व्यवसाय हुनुपर्ने जरुरी छ । उदाहरणका लागि खप्तड क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम लिइरहेका छौं । तर, त्यहाँ स्तरीय होटल व्यवसाय तथा सामान्य होटल व्यवसायको अभावका कारण अपेक्षित अनुसार त्यहाँ पर्यटन प्रवद्र्धन हुन सकिरहेको छैन । ती क्षेत्रमा गएका पर्यटकहरू पनि त्यस क्षेत्रको नकारात्मक सन्देश लिएर फर्कन्छन् ।

कैलालीमा होटल व्यवसाय क्षेत्रमा राम्रो लगानी भइरहेको छ । आज भन्दा १५÷२० वर्ष अघिसम्म यहाँ स्तरीय होटलहरूको अभाव रहेको थियो । यहाँका राष्ट्रिय तथा क्षेत्रीय (प्रदेश) स्तरीय कार्यक्रमहरू नेपालगञ्ज तथा काठमाडौंमै गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको थियो । अहिले यो अवस्था छैन ।

तर, अझै केही कुरामा राज्यको स्पष्ट नीति नहुँदा लगानीमैत्री वातावरण, पर्यटनमैत्री वातावरणको अभाव हामीलाई खड्किरहेको छ । जसले गर्दा सञ्चालनमा आएका होटल व्यवसायीहरू अन्यौलमा छन् । पछिल्लो समय कोभिड–१९ का कारण होटल व्यवसायहरू निकै थला परेका छन् । अहिले जति ठुलो लगानीका होटल छन्, त्यति नै लगानीको गाह्रो रहेको छ । अहिले हामी सानो गुजारा गर्ने अवस्थामा पनि छैनौं । जसले स्वरोजगार भएर सानो स्थानीय स्तरका ग्राहकबाट सञ्चालन भएका साना होटल बाहेक ठुला होटलहरू थला परेको अवस्था छ । यो अवस्थालाई पुर्व अवस्थामा फर्काउन अझै धेरै समय लाग्ने देखिन्छ ।

कैलाली जिल्लामा मात्रै होटल व्यवसायले २४ हजार भन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ । कैलालीमा १० अर्ब रुपैयाँ भन्दा बढी लगानी होटल व्यवसाय क्षेत्रमा भइसकेको छ भने अझै लगानी थपिदो अवस्थामा रहेको छ ।

देशको आर्थिक समृद्धिको मेरुदण्डका रुपमा होटल व्यवसायमा लिन सक्छौं । स्थानीय स्रोत साधनको उपयोग गरेर रोजगारी सृजना गर्छौं, त्यहाँ व्यवसाय गर्छौ ।

कम पुँजीबाट देशमा आर्थिक समृद्धि गर्न सक्ने ठुलो सम्भावना बोकेको क्षेत्र भनेको पर्यटन क्षेत्र हो । यसको लागि ठुलो लगानी चाहिन्छ भन्ने होइन । पर्यटन क्षेत्रको अभिन्न अंग भनेको होटल व्यवसाय क्षेत्र हो । तसर्थ देशको आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठुलो हात होटल व्यवसाय र पर्यटन क्षेत्रको रहेको छ ।

होटल व्यवसाय सञ्चालन हुनु भनेकै पर्यटन प्रवद्र्धनको महत्वपूर्ण कडी हो । यदि होटल व्यवसाय सञ्चालन हुँदैन भने पर्यटन प्रवद्र्धन गर्न अत्यन्तै गाह्रो हुन्छ । सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा होटल व्यवसाय नहुँदा पर्यटन प्रवद्र्धन हुन सकिरहेको छैन । अहिले होटल व्यवसायले आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय, आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रका पर्यटकीय स्थल, विशेषता जानकारी गराउने, आतिथ्य सत्कार गर्ने काम गरेको छ । कुनै पनि ठाउँलाई चिनाउन होटल व्यवसायले महत्वपूर्ण काम गरेको छ । होटल व्यवसाय भनेको मानिसको दोस्रो घर हो । जब मानिस घर छोडेर जान्छ मानिस सबैभन्दा बढी समय विताउने भनेको होटलमा हो । तसर्थ कुनै पनि ठाउँ राम्रो या नराम्रो भनेर चिनाउने अभिन्न तथा महत्वपूर्ण अंग भनेको होटल व्यवसायीको हुन्छ ।

होटल व्यवसाय संघले पर्यटन प्रवद्र्धनका लागि धेरै काम गरेको छ । पर्यटकीय गन्तव्यमा पर्यटकलाई पुर्याउन पनि सहयोग गरेको छ । हामीले अहिले भारत बाहेक अन्य मुलुकका पर्यटकको अहिले अपेक्षा गर्नुपर्ने छैन । हाम्रो सीमा जोडिएका भारतमा ठुला–ठुला शहरहरू रहेका छन् । भारतका केही प्रतिशत जनतालाई यहाँका धार्मिक स्थलमा लोभ्याउन सके वा प्रचार–प्रसार गर्न सक्यो भने धेरै पर्यटक भित्र्याउन सक्छौं । होटल व्यवसाय संघले पर्यटकसंग सरोकार राख्ने सरकारी तथा गैरसरकारी संस्थासंग पनि सहकार्य गरेर गतिविधि अघि बढाइरहेको छ ।

होटल व्यवसायलाई राज्यले उद्योगका रुपमा दर्ता गर्दै आइरहेको छ । तर, अरु समकक्षी उद्योगले पाउने किसिमको सेवासुविधा होटल व्यवसायीहरूले पाइरहेको छैन । यसमा हाम्रो ठुलो गुनासो रहेको छ । जब हामी एउटा उद्योगको रुपमा दर्ता भइसकेपछि भन्सार, कर छुटको सुविधासंगै अन्य सेवासुविधा पनि राज्यले उपलब्ध गराउनु पर्छ । पर्यटकीय गन्तव्य भएका ठाउँमा नीजि जग्गा नभएमा सरकारी जग्गालाई लामो समयका लागि लिजमा दिने व्यवस्थापन र त्यहाँ होटल व्यवसाय गर्ने व्यवसायीहरूलाई पाँचदेखि १० वर्षसम्म कर छुटको व्यवस्था गरिनुपर्छ । बैंकबाट पाउने ऋणमा राज्यले केही छुट दिन सकेमा त्यस्ता ठाउँमा स्तरीय होटल व्यवसाय सञ्चालनमा आउन सक्छन् ।

अहिले सञ्चालन भएका स्तरीय होटलहरूले पनि राज्यबाट सेवा सुविधा नपाउँदा र नयाँ सञ्चालनमा आउने होटलहरूमा पनि लगानी अभावले गर्दा अन्यौलता रहेको छ । राज्यले सेवासुविधा उपलब्ध गराएमा हामी दुर्गममा रहेका पर्यटकीय गन्तव्यमा होटल व्यवसाय सञ्चालन गर्न तयार छौं ।

होटल सेवामुलक व्यवसाय हो । अहिले होटल व्यवसायलाई हेर्ने नजर फरक रहेको छ । होटल मानिसको आधारभुत आवश्यकता पुरा गर्ने ठाउँ हो । हामीले भोकाएका मानिसलाई खाना दिन्छौं । तिर्खाएकालाई पानी दिन्छौं । घर छोडेर बाहिर आएका मान्छेलाई बस्नका लागि बास दिन्छौं र अपरिचित स्थानको परिचय दिन्छौं । हामीले ठुलो जनशक्तिलाई रोजगारी दिएका छौं । हामीले दक्ष, अदक्ष, साक्षर, निरिक्षर सबै प्रकारका जनशक्तिलाई उहाँहरूको सीप अनुसार रोजगारी दिएका छौं । यसले गर्दा विदेश पलायन हुने युवा जनशक्तिलाई स्वदेशमै बस्ने अवस्था सृजना गरेका छौं ।

पर्यटन प्रवद्र्धन नभएसम्म स्तरीय होटलले गति लिन सक्दैन । हामीसंग थुप्रै पर्यटकीय गन्तव्य रहेका छन् । विश्वका अन्य मुलुकमा हेर्ने हो भने कृत्रिम पर्यटकीय स्थल बनाएर ठुलो धनराशी आम्दानी गरेको देखिन्छ । थाईल्याण्ड, हंगकंग, स्विटजरल्याण्ड लगायत विश्वका अन्य मुलुकहरूले पर्यटनकै माध्यमबाट छोटो समयमा धेरै ठुलो आर्थिक छलाङ गरेका छन् । नेपाल प्राकृतिक, भौतिक रुपमै सुन्दर रहेको छ । यहाँको प्रकृति, खानपान, संस्कार, रहनसहनमा हामी अत्यन्तै सम्पन्न छौ । त्यस ठाउँको अपेक्षित प्रचार–प्रसार गर्न सकेका छैनौं र राज्यले एउटा नीति स्पष्ट रुपमा बनाउन सकेको छैन ।

सरकारले नीजि क्षेत्रका व्यवसायीहरूसंग सहकार्य गरेर अघि बढेमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुने छ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा ठुलो कायापलट हुने प्रवल सम्भव छ ।

अहिले जति पनि पर्यटकीय गन्तव्यमा लगानी भइरहेको छ त्यो दीगो छैन । राज्यले पर्यटकीय गुरुयोजना बनाएर लगानी गरेको देखिदैन । साना–साना टुक्रे योजना र कार्यकर्ताको चित्त बुझाउने गरी लगानी भएको देखिन्छ । हामी के भन्छौं भने एक वर्ष एउटा योजनामा हेर्न लायक, पर्यटकलाई आकर्षण गर्ने गरी लगानी गरौं । कुनै पनि ठाउँमा गरे पनि हुन्छ । वास्तवमा पर्यकटको रोजाई बन्ने स्थान हामी रोजौं । ठुलो योजनाका साथ गुरुयोजना बनाएर काम गरेको देखिदैन । तसर्थ हामी अनुरोध गर्न चाहन्छौं संघ, प्रदेश र स्थानीय सरकारलाई पर्यटनकर्मीलाई समन्वय गरेर काम गर्नुपर्छ । हाम्रो नजरमा पर्यटन प्रवद्र्धनमा ठुलो काम गरेको खासै देख्दैन ।

पर्यटकहरू आएर मात्र हुँदैन । उहाँहरू आएर खर्च गरेमा मात्र पर्यटक भित्रिएको महत्व हुन्छ । हाम्रो बीचमा भारतीय पर्यटकहरू आउँछन् । तर, उहाँहरूले यस क्षेत्रमा केही नदिइ जान्छन् । किनभने हामीले त्यस्तो किसिमको व्यवसायीक योजना तथा लगानी भित्र्याउन सक्ने किसिमको योजना बन्न सकेको छैन । पर्यटक आएर उहाँहरूलाई खुशी बनाउने, लगानी गर्न सक्ने, अन्य व्यक्तिलाई पनि ल्याउन सक्ने गरी स्थानीय, प्रदेश र संघ सरकारले स्थानीय नीजि क्षेत्रसंग सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ ।

पर्यटकका लागि प्रहरी प्रशासन पनि बाधक बनेको छ । भारतीय पर्यटक आउँदा भन्सारदेखि पर्यटकीय स्थलहरूसम्म पुग्न निर्वाध रुपमा जान सक्ने अवस्था छैन । पर्यटन प्रवद्र्धनमा विशेष नीति बनाउनु पर्ने देखिन्छ । यहाँ पर्यटन प्रहरी पनि आवश्यक देखिन्छ ।

हामी अहिले कोरोना महामारीका कारण अत्यन्तै प्रभावित भएका छौं । कोभिडकै बीचमा उद्योग वाणिज्य संघले आफनो स्वर्ण जयन्ती मनाइरहेको छ । यो स्वर्ण जयन्ती सफल होस भन्ने शुभकामना पनि व्यक्त गर्दछु । आज भन्दा ५० वर्ष अगाडि उद्योग वाणिज्य संघको आवश्यकता महशुस गरेर स्थापना गर्ने अग्रजहरूलाई उच्च सम्मान गर्दै यो स्वर्ण जयन्तीको उपलक्ष्यमा वर्तमान अध्यक्ष तथा पदाधिकारी लगायत सम्पूर्णलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

होटल व्यवसायी संघ कैलालीका अध्यक्षसंग कुराकानीमा आधारित