धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन   २०८०।८१  ले दिने संदेश : सामान्य चर्चा

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८०।८१ को पहिलो प्रयासबाट नै अपेक्षित चाहना र उद्देश्यहरु प्राप्त गर्न नसकिएला तर प्रदेशमा औद्योगिक लगानी र उद्योग विस्तारका लागि ढोका खुलेको संकेत सम्प्रेक्षण गर्न सकिन्छ । निश्चित रुपमा सुदूरपश्चिम प्रदेशको यो

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन   २०८०।८१  ले दिने संदेश : सामान्य चर्चा
प्रा. डा. जगत बहादुर सिंह रावल सदस्य प्रदेश नीति तथा योजना आयोग सुदुरपश्चिम प्रदेश

यही २०८० साल असौज महिनाको अन्तिम साता सुदूरपश्चिम प्रदेश सरकारले यस प्रदेशमा पहिलो पटक “लगानी तथा विकास सम्मेलन २०८०” फागुन २३ र २४ गते गर्ने निधो गर्दै चार वटा उच्च स्तरीय समिति स क) माननीय मुख्यमन्त्रीज्यूको संयोजकतामा मूल समिती, ख) माननीय भौतिक पुर्वाधार विकास मन्त्रीज्यूको संयोजकत्वमा निर्देशक समिति, ग) माननीय आर्थिक मामिला मन्त्रीज्यूको संयोजकत्वमा कार्यकारी समिति र घ) यस प्रदेश संग सम्बन्धित विशिष्ट व्यक्तित्वहरुको एउटा उच्च स्तरिय सल्लाहकार समिति मार्फत सो लगानी तथा विकास सम्मेलनको कार्य आरम्भ गरियो । उक्त सम्मेलन भव्यताका साथ सम्पन्न गर्न र परिणाममुखी बनाउन २०८० साल कार्तिक ४ गते प्रदेश सरकार र उद्योग वाणिज्य महासंघ बीच संयुक्त रुपले नौ बुँदे समझदारी पत्रमा हस्ताक्षर भै सम्मेलन प्रति एक्यबद्धता जाहिर गरियो ।

तत्पश्चात माननीय मुख्यमन्त्रीज्यू र उहाँको मन्त्रीमंडलले यो सम्मेलन सम्बन्धमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ, संस्थाका साथै थुप्रै चिर परिचित व्यक्तित्वहरुसंग भेटघाट र समन्वय गर्ने कार्य गरे । त्यस्तै कार्यकारी समितिद्वारा सम्मेलनको सचिवालय निर्माण गरि सो सचिवालय एवम प्रदेश नीति तथा योजना आयोग मार्फत सम्मेलनका लागि आवश्यक पर्ने विविध कार्य र कार्यक्रमहरुलाई तीव्रताका साथ सम्पादन गर्दै आएको देखिन्छ । सो सम्मेलन तोकिएको समयमा सम्पन्न होला वा नहोला, त्यो भन्दा महत्त्वपूर्ण कुरा के हो भने प्रदेश सरकारले यस क्षेत्रको विकास र सम्वृद्धिका लागि पहिलो पल्ट लगानी आकर्षित गर्न ल्याएको सम्मेलनको अवधारणा हो । निश्चित तवरले प्रदेश सरकारको यस प्रयासबाट देश विदेशमा सुदूरपश्चिम प्रदेशको पहिचानका साथै प्रदेशमा लगानी गर्न सकिने सम्भावित क्षेत्रहरुका बारेमा पनि जानकारी हुनेछ । भन्ने गरिन्छ प्रयास नै नगरी कुनै पनि उद्देश्य प्राप्त गर्न सकिदैन ।

प्रदेश सरकार खास गरि आफ्नो प्राथमिकतामा रहेका कृषि, पर्यटन तथा जलश्रोतमा आधारित उद्योगको विकासमा कटिबद्ध रहेको देखिन्छ । लगानी तथा विकास सम्मेलन मार्फत लगानीकर्तालाई उद्योग स्थापना गर्नका लागि आवश्यक पर्ने जग्गा  जमिन लगायत अन्य आवश्यक पुर्वाधार र सहुलियत बारे पनि प्रदेश सरकारले समयानुकुल छलफल गर्दैछ । यस प्रदेशमा सुख्खा बन्दरगाहको स्थापनाले पनि सुदूरपश्चिम प्रदेश सरकारको प्रयास लगानीकर्तालाई आकर्षित गरी प्रदेशमा बृहत औद्योगिक क्षेत्रको निर्माण गर्ने गराउने हो । यथार्थमा भन्ने हो भने व्यावसायिक उद्यमका लागि प्रदेशको अनुकुलतम भौगोलिक अवस्था र वातावरणीय विविधता हुदा हुदै हालसम्म कुनै पनि प्रयास र पहलकदमी त्यति गम्भीरताका साथ नहुनुले प्रदेशमा उद्योग व्यवसायले खासै विकास गर्न सकेको छैन । यी र यस्ता कारणहरुले गर्दा अहिलेसम्म यस प्रदेशमा पर्यटन तर्फ होटेलको संख्या ४३, होम स्टे १३, टुर्स एण्ड ट्राभल्सको संख्या ४१ मात्र रहेका छन् । त्यस्तै उद्योग तर्फ ठुला तथा मझौला उद्योग ११५ मात्र छन् भने जलस्रोत तर्फ हालसम्म केवल ५६.७१ मे.वा. जलविद्युत ( जसमा ४.७१ मेवा. हालसालै रानी, जमरा र कुलारिया सिचाई आयोजना विद्युतगृहको समेत ) मात्र राष्ट्रिय ग्रिडमा जडित छ ।

यी सबै तथ्यांकहरुको आधारमा के भन्न सकिन्छ कि सुदूरपश्चिम प्रदेशमा औद्योगिक लगानी र उद्योग विस्तारका लागि संघिय सरकारले नयाँ औद्योगिक नीति र कानूनको दायरालाई फराकिलो पार्दै विगतदेखि राज्यको मूल धारबाट अलगिएको खास गरि स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाज्युले उद्घाटन गर्नु भएको कर्णाली पुल र आदरणीय नेता शेर बहादुर देउबाज्युको पालामा सम्पन्न २६ वटा पुलहरुको निर्मार्ण पश्चात मात्र मुलधारमा समाहित यस प्रदेशको सम्बन्धमा विशेष सुविधारुपी प्रावधानको व्यवस्था गर्नु पर्ने हुन्छ । समावेशीकरणको आजको युगमा राज्यबाट सदैव उपेक्षित सुदूरपश्चिम प्रदेशलाई सङ्घीय सरकारले प्राथमिकतामा राखी “सुदुरपश्चिम प्रदेश लगानी र विकास सम्मेलन २०८०।८१ लाई सफल पार्न यसको मुख्य लक्ष्य अनुरुप कानून, नीति, प्रक्रिया र पद्धतिमा समेत सहजीकरण गर्न आवश्यक छ । किन भने सुदूरपश्चिम प्रदेश सामाजिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको रूपमा सम्पन्न प्रदेश हुदा हुदै पनि केन्द्रको नजरअन्दाजी रवैयाका कारण आज पनि राष्ट्रको मुलधारमा समाहित हुने आधार प्रति न्यायिक सन्तुष्टि हुने अवस्थामा छैन ।

प्राकृतिक र जैविक रुपले समृद्ध यस प्रदेशले ठूला उद्योग स्थापनाका लागी औद्योगिक क्षेत्रमा खासै प्रगति गर्न नसकेको भए पनि साना तथा मझौला उद्योग मार्फत औद्योगिक विकासको यात्रालाई निरन्तरता दिइरहेको छ । खेलको नियम अनुसार सबै खिलाडीहरुलाई समान अवसर र सुविधा प्रदान गर्नु पर्ने हुन्छ । त्यस्तै सबै प्रदेशलाई दौडको सुरुवाती लाइनमा उभ्याएर अगाडी बढ्ने अवसर प्रदान गर्ने दायित्व संघिय सरकारको हुन्छ । कम्तिमा पनि २५० वर्षको क्षतिपूर्तिका रुपमा केही विशेष सहुलियत उपलब्ध गराउने शर्तमा संघीय सरकार उभिनु पर्दछ अनि मात्र सुदुरपश्चिम प्रदेश दौडको सुभारम्भ लाइनमा उभिन सक्छ । यदि नेपाल सरकारले वास्तविक रुपले समावेशिकरणको सिद्धान्तलाई अनुसरण गर्ने दृष्टान्त राख्ने हो भने यस सम्मेलनलाई आवश्यक पर्ने सबै सुविधाहरु उपलब्ध गराउने साहस राख्नु पर्ने हुन्छ ।

यस सम्मेलनको मुख्य उद्देश्य प्रदेशमा लगानी आकर्षित गरि सम्भावित क्षेत्रमा उद्योगहरु स्थापित गराउनुका साथै प्रदेश सरकारले दिगो र समावेशी विकास तथा वातावरणीय पक्षलाई केन्द्रमा राखेर प्रदेशको आम्दानी बढाउने र प्रदेशमा रोजगारीका नयाँ अवसरहरूको सिर्जना गराउने हो । यस सम्मेलनको मुख्य लक्ष्य समावेशीकरणलाई केन्द्रमा राखेर दिगो औद्योगिक विकास गर्नु र सम्भावित क्षेत्रमा उत्पादकत्व बढाई प्रदेशलाई समृद्धिको मार्गमा अग्रसर गराउने हो ।

यस सम्मेलन मार्फत प्रदेशमा सीप विकास प्रवद्र्धन गरी सुदुरपश्चिम प्रदेशका बेरोजगार युवाहरूलाई नयाँ रोजगारीको अवसर प्रदान गर्ने उद्देश्य पनि हो । किन भने अहिलेसम्म यस क्षेत्रमा खासै उपलब्धि हासिल हुन सकेको छैन । प्रदेश सरकारले यस दिशामा पहल गरिरहेको छ र आगामी दिनमा सकारात्मक नतिजा प्रति आशावादी हुने वातावरणको सृजना गर्न सक्छ ।

प्रदेशको वेद्कोट नगरपालिका अवस्थित दैजी औद्योगिक क्षेत्र, लम्कीचुहा  नगरपालिकामा अवस्थित बल्चौर औद्योगिक क्षेत्र र टिकापुर नगरपालिकाद्वारा प्रस्तावित औद्योगिक क्षेत्रमा थुप्रै उद्योगहरु स्थापना गर्न सकिने प्रचुर सम्भावना छ । कैलालीको चुहामा बन्द भएको बृहत चिनी उद्योगलाई पुनः संचालनमा ल्याई अन्य चिनी उद्योग समेत स्थापना गर्न सकिने सम्भावना रहेको छ । यसबाहेक प्रदेश सरकारले पर्यटनलाई पनि उद्योगको रुपमा मान्यता दिइएको छ । जसका कारण प्रदेशमा कैलालीको कर्णाली ब्रिज, टिकापुर बृहत पार्क, पदम प्रकाशेश्वर महादेव धाम र कर्णाली करिडोर, घोडाघोडी ताल, कन्चनपुरको शुक्लाफाँटा निकुन्ज, डडेल्धुराको उग्रतारा र घटालबाबा, डोटीको खप्तड क्षेत्र, बैतडीको महारुद्रधाम, दार्चुलाको मलिकार्जुन धाम, अपि हिमाल, बाजुराको बडीमालिका, अछामको रामारोशन र बैजनाथ धाम, एवम बझाङगको सैपाल हिमाल जस्ता पर्यटकीय केन्द्रहरुको आधारमा स्थानीय आवश्यकता अनुरुप साना उद्योग स्थापना हुने प्रचुर सम्भावना रहेको छ । यस प्रदेशको भौगोलिक बनावटका कारण ठूला उद्योगहरूको विकास गर्न सहज नभए पनि केही विशेष स्थानको पहिचान गरी ती क्षेत्रमा ठूला उद्योग स्थापना गर्ने सम्भावना खोज्न पनि यस सम्मेलनले सहयोग पुरयाउन सक्छ । यस सम्मेलन मार्फत प्रदेश अन्तर्गत रहेका प्राकृतिक सम्पदाको सदुपयोग गर्न सम्भावित उद्योग र उत्पादनहरूका लागि  पनि अनुसन्धान र खोज गर्न सकिने आधारहरुको निर्माण गर्न सकिन्छ ।

ठूला उद्योगहरुको स्थापना खास गरि कच्चा पदार्थको उपलब्धता, यातायातको सुविधा, बजारमा पहुँच, खानेपानी तथा विद्युतको उपलब्धता, पुँजी लगानी र रोजगारीको सम्भावनामा निर्भर हुन्छ । खानेपानी र बिजुली बाहेक अन्य सबै सुविधा प्रदेशमा सीमित हुदा हुदै पनि प्रदेशमा ठूला उद्योगहरु स्थापित गर्ने अपार सम्भावना देखिन्छ । यस बाहेक प्रदेशमा पर्यटन, माछा उत्पादन, कृषि प्रशोधन उद्योग, केरा उद्योग, जडीबुटी प्रशोधन उद्योग, दुग्ध उत्पादन आदिको प्रवर्धन गर्न सकिन्छ । धेरै सर्वेक्षणहरूले प्रदेशसँग खनिज स्रोतको अपार भण्डार रहेको देखाउँछ। त्यसैले खनिजमा आधारित उद्योगको विकासमा पनि जोड दिन सकिन्छ । प्रदेशमा प्राकृतिक ग्यास पनि फेला परेको खुलासा भएको छ । यस क्षेत्रमा पनि उद्योग स्थापनाका सम्भावनाहरू खोज्न सकिन्छ । यसबाट प्रदेशमा रोजगारीका अवसरहरूसँगै प्रदेशको आयस्रोतमा वृद्धि हुने र प्रदेशको आवधिक योजनाले तय गरेका प्रमुख लक्ष्यहरू पनि हासिल गर्न सकिन्छ  ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८०।८१ को पहिलो प्रयासबाट नै अपेक्षित चाहना र उद्देश्यहरु प्राप्त गर्न नसकिएला तर प्रदेशमा औद्योगिक लगानी र उद्योग विस्तारका लागि ढोका खुलेको संकेत सम्प्रेक्षण गर्न सकिन्छ । निश्चित रुपमा सुदूरपश्चिम प्रदेशको यो पहिलो प्रयास हो, हामी सुदुरपश्चिमवासी कति सफल हुन्छौ, त्यो भविष्यको गर्भमा सुरक्षित छ । तर इतिहासको घटनाक्रमले के देखाउन्छ भने पहिलो प्रयासमा आंशिक सफलता पाउनु नै भविष्यको पूर्ण सफलता हो । उदाहरणका लागी धेरै टाढा नगई हाम्रै छिमेकी देश भारतको राज्य गुजरातलाई लिन सकिन्छ । गुजरात राज्य आज जुन समृद्धिको अवस्थामा छ, त्यस्का लागी उसले आठौ लगानी सम्मेलन सम्मको प्रतीक्षा गर्नु परयो अनि मात्र विदेशी र स्वदेशी लगानीलाई आकर्षित गर्न सफल भयो । यस सम्मेलन मार्फत लगानीकर्ताहरुलाई प्रदेशमा रहेका निम्नानुसार सम्भावित लगानीका क्षेत्रहरु बारे अवगत गराउन सकिन्छ ।

  • कृषि उत्पादन, जलविद्युत, सिमेन्ट जस्ता प्रमुख क्षेत्रहरूमा थप लगानी आकर्षित गर्न सकिन्छ ।
  • प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रहरूमा राम्रो पूर्वाधार निर्मार्ण गरि पर्यटकहरुलाई मनोरम सुविधाहरू प्रदान गर्न सकिन्छ ।
  • कृषि योग्य उत्पादन खास गरि नगदे बालिको व्यवस्थापनका लागी शीतभण्डारको स्थापना ।
  • कृषिको आधुनिकीकरणका लागि यान्त्रिक खेतिको लागि चाहिने मेशिन र यन्त्र उद्योग ।
  • कृषि उत्पादनको बजारीकरणका लागि राम्रो यातायात कम्पनी ।
  • साना र मझौला उद्योग हरुको प्रवर्धन र प्रशिक्षणका लागि अनलाइन प्रशिक्षण संस्थान ।
  •  कृषि, पर्यटन र जलश्रोत क्षेत्रलाई प्रवर्धन गर्न कम ब्याज दरमा ऋण दिने वित्तीय संस्था ।
  • दक्ष, अदक्ष, कामदारहरू निर्मार्ण गर्ने तालिम केन्द्र ।
  • प्रदेशमा विद्यमान विमानस्थलहरूमा चाहिने पाइलट र एयर होस्टेस लगायत अन्य प्राविधिक मानवीय संसाधनलाई प्रशिक्षित गर्ने संस्थान ।
  • प्रविधिको स्तरोन्नति र ऊर्जा पूर्वाधारको विकास गर्ने परामर्श संस्था ।
  • प्रदेशमा उत्पादित वस्तुहरुको बजारीकरणका लागि व्यापार सहजीकरण केन्द्रहरूको स्थापना ।
  • वैदेशिक व्यापार र लगानी सम्बन्धी सचेतना केन्द्र ।
  • प्रविधिमैत्री आईटी पार्कहरूको स्थापना ।
  • अधिक पर्यटक आगमनको लागि प्रत्येक जिल्लामा ई(लाइब्रेरीको स्थापना ।
  • नवप्रवर्तनात्मक पर्यटन योजना र प्याकेजहरूमार्फत नयाँ पर्यटन हबहरूको पहिचान र विकास ।
  • प्रदेशका सबै जिल्लाहरुमा तिनीहरूको संस्कृति प्रवद्र्धनका लागि वार्षिक रुपले परम्परागत मेलाहरूको आयोजना ।
  • प्रदेशको स्थानीय भोजन प्रवर्धनका लागि सबै होटलको मेनुमा स्थानीय (तराइ,पहाडी र हिमाली ) खाना समावेश गर्ने कार्य ।
  • सांस्कृतिक प्रवद्र्धन गर्न मनोरञ्जक गतिविधिहरूको लागि नदी खोला संग कृत्रिम शिविर साइट निर्माण गर्ने कार्य ।
  • खप्तड, बडी मालिका, रामारोशन र अपि हिमाल जस्ता पर्यटकीय स्थानमा पर्यटकहरुका लागी घोडसवारीको सुविधा प्रदान गर्ने संस्था हरुको व्यवस्था गर्ने कार्य ।
  • प्रदेशको पहाडी र हिमाली क्षेत्रमा रोप वे, केबुल कार, ट्र्याकिङ र घोडसवारी कम्पनिलाई विशेष ग्राहिता दिने कार्य । प्रत्येक पर्यटन क्षेत्रमा पर्यटकको सुरक्षाको लागि ऋऋत्ख् क्यामेरा, हेल्थ पोस्ट र पुलिस पोस्ट को व्यवस्थाका साथै पार्किङ स्पेस, सडक बत्ती, पैदल यात्रीहरूका लागी ई टॉयलेटहरूको सुविधा प्रदान गर्ने कार्य । 
  • प्रदेशमा अवस्थित होटल उद्योगको जैविक मल फोहोरबाट जैविक मल उत्पादन गर्न सक्ने कम्पनि लाई विशेष सहुलियत दिने कार्य ।
  • प्रदेशमा अवस्थित ठुला तालहरुलाई व्यवसायिक प्रयोजनस खास गरि माछा पालन, बंगुर पालन, हाँस पालन र दृश्यावलोकनका   लागि विशेष व्यवस्था गर्ने कार्य ।
  • यो प्रदेश हस्तकलाको सम्पदामा धनी छ । जसमा थारु संस्कृतिका विभिन्न घरायसी वस्तुहरू लाई व्यवसायीकरण गर्ने कार्य ।
  • प्रकृति प्रेमी पर्यटकहरुका लागी प्रकृतिको काखमा ९खास गरि उच्च पहाडी क्षेत्रमा० बस्न सक्ने गरी ट्री हाउसको विकास गर्ने कम्पनि लाई विशेष सुविधा उपलब्ध गराउने कार्य ।
  • प्रदेशमा विदेशीहरुलाई आकर्षित गर्न पोलो पर्यटन र गल्फ पर्यटन प्रवद्र्धनका साथै खप्तड र बडीमालिका क्षेत्रमा स्थानीय घोडा हरुको रेस ९डर्बी०  व्यवस्थापन गर्ने कम्पनि लाई विशेष सुविधा प्रदान गर्ने कार्य । आदि इत्यादि ।

लगानी तथा विकास सम्मेलन सफल पार्न यसका केही शर्तहरु पनि हुन्छन । औद्योगिक क्षेत्रको विकास गर्न प्रदेश सरकारले औद्योगिक मैत्री नीति र वातावरणको सिर्जना गर्नु पर्ने हुन्छ । त्यस्तै सडक, विद्युत, ढल निकास, खानेपानी, सञ्चार र सुरक्षा जस्ता आधारभूत सुविधा सहितको नीति सार्वजनिक गर्नु पर्ने हुन्छ । प्रदेश सरकारले जलविद्युत आयोजनामा लगानी आकर्षित गर्नका लागि सार्वजनिक निजी साझेदारीमा ठूलो जोड दिनु पर्ने हुन्छ । यी र यस्ता थुप्रै सहुलियत र सुविधा उपलब्ध गराउने बारे प्रदेश सरकारले लगानीकर्तालाई आश्वस्त गराउन पर्ने हुन्छ ।

अन्त्यमा, समग्र प्रदेशको विकास र समृद्धिका लागी प्रदेश सरकारको एकल प्रयास मात्र पर्याप्त हुदैन । अभिभावकको रुपमा प्रदेश सरकार रहेता पनि सकारात्मक सोचका साथ यस प्रदेशका सबै राजनैतिक दल, सरकारी र गैर सरकारी संस्थाहरु, निजी क्षेत्र, सामुदायिक संस्थाहरु र सुदुरपश्चिमका आम नागरिक र जनता जनार्दनको सामुहिक सद्भाव र सहयोग रहेमा यो सम्मेलनले परिवर्तनका केही सकारात्मक संदेशहरु पदचिन्हका रुपमा छोडेर जाने कुरामा कुनै सन्देह रहने छैन । हाम्रो प्रतिस्पर्धा आपसी नभई राज्यका अन्य प्रदेशहरु संग हुन पर्दछ, त्यसैले जसरी हामी एकजुट भएर सुदूरपश्चिम प्रदेशलाई तराई, पहाड र हिमालको साझा प्रदेशको रुपमा स्थापित गर्न सफल भयौ, ठीक त्यस्तै किसिमले यस प्रदेशको भाग्य निर्धारण गर्न सक्ने यस सम्मेलनलाई सफल पार्न एकताबद्ध भएर अगाढी बढेमा हाम्रा चाहना, आशा र परिकल्पनाहरु साकार हुन सक्छन, अनि मात्र हामी हाम्रो प्रदेशको परिचयलाई सबै सामु प्रस्तुत गर्न सक्छौ ।