धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

इन्टरनेटको इतिहास र हालको अवस्था

इन्टरनेटको इतिहास र हालको अवस्था
बीरेन्द्र भट्टराई प्रवन्ध निर्देशक मालिका कम्प्युटर

सन् १९८९ मा भौतिकशास्त्री टिम बर्नर्सलीले वैज्ञानिकहरूका लागि पहिलो वेब पेज बनाएका  थिए । त्यो वेब पेज रङ्गिन थिएन । त्यसमा तस्वीर वा भिडिओ थिएन । त्यसमा खाली अक्षरको  लिङ्क थियो । अनि थिए, केही झुक्किनेखालका मेनु ।

 तर, त्यहीँ सानो प्रयासबाट आज डब्ल्युडब्ल्युडब्ल्यु (www) ले ठुलो फड्को मारेको छ । विकिपिडिया, फेसबुक, गुगल र अनगिन्ती अन्य इन्टरनेटका पानाहरू जसलाई विश्वभरका धेरै मानिसहरूले दैनिक हेर्ने गर्दछन्, यी सबै कुराको विकासको जग वेब पेज हो ।

 वेब पेजका जन्मदाता बेलायती भौतिकशास्त्री तथा इञ्जिनियर टिम बर्नर्सलीले सबै वैज्ञानिकहरूबिच सुरक्षित रूपमा आफ्नो अध्ययनका बारेमा जानकारी आदानप्रदान गर्न सूचना व्यवस्थापन प्रणालीको प्रस्ताव गरेका थिए । बर्नर्सलीका तत्कालिन हाकिम मार्क सेन्डलले त्यो प्रस्तावलाई अस्पष्ट तर चाखलाग्दो भनेका थिए । आज वेब (www) हरपल थपिइरहने अनगिन्ती फाइल, तस्वीर र सञ्जालको विशाल सूचना भण्डार बनेको छ । तर ३० वर्ष अगाडि बर्नर्सलीले आफ्नो कम्प्युटरमा आफ्नो आविष्कार राखेका थिए र यसलाई हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल (जततउस्रर) भनेर नाम दिएका थिए ।

आज हामीले इन्टरनेटको ठेगाना दिँदा देखिने एचटीटीपी (http:// )  बर्नर्सलीले दिएको नामको छोटकरी रूप हो । त्यसको एक वर्षपछि सन् १९९० डिसेम्बर २० मा वेब आन्तरिक प्रयोजनका लागि र सन् १९९१ अगस्टमा सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो ।

सन् १९९३ अप्रिल ३० मा यसको धेरै प्रयोग होस् भनेर पारमाणविक अध्ययनका लागि युरोपेली संस्था सिइआरएनले वेबको सफ्टवेयर सार्वजनिक गरेको थियो । बाँकीको इतिहास सबैका सामु छ ; वेब इन्टरनेटको पर्यायवाची बन्यो ।

त्यो बेलाको प्रविधि

  त्यो बेलाको प्रविधि (windows) न विण्डोज (windows थियो न गुगल क्रोम (Google Chrome_) नै थियो । त्यो समय व्यक्तिगत कम्प्युटर औंलामा गन्न सकिन्थ्यो । भने इन्टरनेटको प्रयोग भनेको केही इमेल पठाउनमा मात्र सिमित थियो ।  इन्टरनेट चलाउनका लागि फोन जोड्ने तारबाट काम चलाउनु पर्ने बाध्यता  थियो ।

 अहिले फोरजीको जमानामा हामी द्रुत गतिको इन्टरनेट चलाउछौँ र केही सेकेण्ड इन्टरनेट चलेन भने दिक्क मान्छौँ । पहिलो वेबपेज (Web page) पनि आजको हिसाबले उस्तै अप्ठ्यारो थियो । तर, त्यो बेला यो ठुलो आविष्कार थियो । अनि त्यो बेला गुगल जस्तो सर्च इन्जिन (Search engine) पनि थिएन ।  सन् १९८९ को पहिलो वेबपेज (Web Page ) मा त ठेगाना राख्ने ठाँउ पनि थिएन । त्यसमा कुनै तस्वीर वा चित्र वा आवाज थिएन ।

 आजको मितिसम्म आइपुग्दा धेरै कुरा बदलिएको छ । वेबपेज बनाउने एचटीएमएल (HTML) भनिने भाषामा व्यापक सुधार भएको छ । एचटीटीपी (httpM÷÷ भनिने वेबपेज (Web page) कसरी देखिन्छ भन्ने नियम र इन्टरनेट ब्राउजरले (Internet Browser) कसरी हामीले भने जसो गर्छ भन्ने निर्देशनमा यति परिवर्तन भएको छ कि यो बर्नर्सलीले बनाएको भन्दा धेरै फरक भइसकेको छ ।  र हाम्रो वेब चलाउने तरिका र अनुभवलाई रमाइलो बनाउने सर्च इञ्जिन र ब्राउजर दिन प्रतिदिन राम्रो र परिष्कृत बन्दै गएका छन् ।

 यसको अर्थ आज हामी अनलाइनमा जे देख्छौँ त्यो पहिलो वेब पेज भन्दा नितान्त भिन्न छ । सन् १९९४ मा बर्नर्सलीले डब्ल्युडब्ल्युडब्ल्यु (www) को व्यवस्थापन गरेर विश्वभर एउटै मापदण्ड बनाउने डब्ल्युडब्ल्युडब्ल्यु कन्सोर्टियम (www Consortium ) स्थापना गरे । यदि तपाईले वेब पेज हेर्नु गज्जब हो भन्ठान्नु भएको छ भने म विश्वस्त छु, तपाईले कहिल्यै वेबपेज बनाउनु भएको छैन, बर्नर्सलीले सन् १९९८ मा भनेका थिए ।  अहिले भने सिइआरएनले पहिलो वेबसाइटलाई फेरि इन्टरनेटमा उपलब्ध गराउने परियोजना सुरू गरेको छ ।

नेपालमा इन्टरनेटको इतिहास र हालको अवस्था

 नेपालमा पहिलो इन्टरनेट शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र मर्केन्टायल अफिस सिस्टमले सन् १९९५ मा भित्याएका थिए । त्यसैगरी सन् १९९५ मा सिएस ट्रेडिङले इन्टरनेटको सुरुवात गरेको थियो । सन् १९९७ मा नेपालमा श्री ५ को सरकारले दुरसञ्चार ऐन पारित गरेको थियो भने सन् २००१ मा नेपालमा विदेशी कम्पनी आइएनजियो सहित जम्मा २० प्रतिशत इन्टरनेटका प्रयोगकर्ता रहेका थिए ।

नेपालमा बिजुली नपुगेको ठाउमा पनि इन्टरनेटको पहुँच गर्ने एक मात्र व्यक्ति हुन् महाविर पुन । पुनलाई १५ वटा हिमाली जिल्लाहरुमा इन्टरनेट सुचारु गरेको भन्दै विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सन् २०११ मा नेपालमा लगभग ९ प्रतिशत अर्थात २३ लाख जनतामा इन्टरनेटको पहुँच भैसकेको थियो । त्यसपछिका वर्षहरूमा भने इन्टरनेट प्रयोगकर्ताको संख्या एक्कासी वढ्यो र हाल आएर नेपालमा २ करोड भन्दा भेरै इन्टरनेट प्रयोगकर्ता रहेका छन् । हाल नेपालमा फोरजी चलिरहेको छ भने विश्वका केही देशले भने ५ जी सञ्चालनमा ल्याइसकेका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)

नेपालमा आइएसपीहरुले इन्टरनेट जडानका साथै इन्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरु जस्तै वेबसाइट होस्टिङ तथा वेबसाइट डेभलपमेन्ट, सफ्टवेयर प्याकेज, इमेल एकाउन्ट, तथा डोमेन नेम रजिस्ट्रेसनको सेवाहरु पनि प्रदान गर्दछन् ।

दूरसञ्चारको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा २२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी देहाय बमोजिम रहेका छन् छन् ।

1.      Mercantile Communications Pvt. Ltd

2. Communications and Communicate Nepal Pvt. Ltd.

3. WorldLink Communications Ltd.

4. Web surfer Nepal Communication System Pvt. Ltd.

5. Subisu Cable Net Ltd.

6. SITA B.V

7. Broad link Network & Communication Limited

8. Classic Tech Pvt. Ltd.

9. Tec minds Network Pvt. Ltd.

10.    Nepal Digital Service Pvt. Ltd.

11.    Ncell Axiata Limited

12.    Vianet Communication Ltd.

13.    Parsa Telecommunication Pvt. Ltd.

14.    Barahi Internet Technologies Pvt. Ltd.

15.    Firstlink Communications Pvt. Ltd.

16.    Dish Media Network Ltd.

17.    CG Communications Ltd.

18.    Fiberworld Communication Pvt. Ltd.

19.    Space Link Pvt. Ltd.

20.    Itel Network Pvt. Ltd.

21.    Access World Tech Pvt. Ltd.

22.    Loop Network Limited.

     यद्यपि ती मध्ये केही कम्पनीसँग मात्र ठुलो सञ्जाल तथा प्रयोगकर्ता छन् । नेपालमा क्रियाशील धेरै प्रयोगकर्ता भएका इन्टरनेट सेवा प्रदायकको चर्चा यहाँ गरिएको छ M

१. वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड

 नेपालका सबै जसो जिल्लामा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न सफल वल्र्डलिंक कम्युनिकेसन्स नेपालको सबै भन्दा ठुलो इन्टरनेट सेवा प्रदायक हो । यसको इन्टरनेट ब्याण्डविथ नेपालमा झण्डै ४५ प्रतिशत रहेको छ ।

 स्थापनाको पछिल्लो २८ वर्षमा सानो व्यवसायबाट यो कम्पनी एक बलियो र स्थिर संस्था बन्न सफल भएको  छ ।  ठूलो संख्यामा ग्राहकको साथ पाएको यो कम्पनी इन्टरनेट सेवा प्रदायक मात्र नभइ समग्र प्रविधि सेवा प्रदायकको रुपमा देखिएको छ । इन्टरनेटका साथै यो कम्पनीले डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन तथा परामर्श, वेब होस्टिङ, हार्डवेयर व्यापार तथा मर्मत र सफ्टवेयर डेभलपमेन्ट जस्ता सेवा पनि प्रदान गर्दै आएको छ ।

वर्ल्डलिंकले व्यक्तिगत र व्यावसायिक दुबै क्षेत्रलाई विभिन्न इन्टरनेट प्याकेज दिँदै आएको छ । नेपालको तेश्रो ठुलो टेलिकम्युनिकेसन कम्पनी बनिसकेको वर्ल्डलिंकबाट तपाईहामीलेले इन्टरनेट सेवाका साथै इन्टरनेट टेलिभिजन अर्थात नेट टिभी सेवा पनि पाउन सक्छौँ । साथै प्रयोगकर्ताले वर्ल्डलिंकको एपबाट आफ्नो इन्टरनेट सेटिङ्स पनि मिलाउन सक्छन् ।

 हाल ७३ जिल्लामा सेवा विस्तार गरिसकेको वर्ल्डलिंकले नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारका लागि बेलायतको सीडीसी ग्रुपसँग दुई वर्ष अगाडि झण्डै डेढ अर्ब रुपैयाँको सम्झौता गरेको थियो । त्यस्तै, फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंकले नेपालका १० हजारभन्दा धेरै क्षेत्रमा निःशुल्क वाईफाई इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

वर्ल्डलिंकबाट ग्राहकहरुले इन्टरनेट स्पीडको आधारमा विभिन्न टप प्लान खरीद गर्न सक्दछन् । त्यसमा २००, २५०, ३०० एमबीपीएस रहेका छन् । जसको शुल्क वार्षिक १६ हजार देखि १८ हजारसम्म रहेको छ ।

२. भायनेट कम्युनिकेसन्स प्रालि

  सन् १९९९ मा स्थापना भएको भायनेट कम्युनिकेसन्स प्रालि पनि नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक मध्येको एक हो । प्रयोगकर्ताको संख्या तथा लोकप्रियताको हिसाबले यो नेपालको तेश्रो ठूलो सेवा प्रदायक कम्पनी (आइएसपी) हो । ग्राहकहरुलाई उच्च गतिको एफटीटीएच (फाइबर टु द होम) सेवा प्रदान गर्ने भायनेट पहिलो इन्टरनेट सेवा प्रदायक हो ।

 एफटीटीएच सेवा काठमाडौं उपत्यकामा निकै लोकप्रिय देखिएको छ । साथै यो कम्पनी एन्टि लग गेमिङ इन्टरनेट प्रदान गर्ने पनि पहिलो कम्पनी हो । यो कम्पनीले मुलुकमा लोडसेडिङको समयमा पनि विना कुनै अवरोध र उच्च गतिको इन्टरनेट सेवा दिने गरेको दाबी गर्दै आएको छ ।

भायनेटले व्यक्तिगत र व्यावसायिक क्षेत्रको लागि विभिन्न प्याकेजहरु प्रदान गर्दै आएको छ । साथै भायनेटको जुन सुकै इन्टरनेट प्याकेज लिए पनि तपाइँले नेटटीभी सेवा पाउन सक्नुहुन्छ ।

 भायनेटले भायटिभी र भिडियो अन डिमान्ड सेवा पनि उपलब्ध गराउन थालेको छ । हाल नेपालका १८ जिल्लामा भायनेटको सेवा उपलब्ध छ । भायनेटको पनि २०० एमबिपिएस देखि ३०० एमबिपिएस स्पीड सम्मको इन्टरनेट प्याकेज वार्षिक १३ हजार ६ सय देखि १८ हजार रुपैयाँ सम्ममा उपलब्ध हुन्छ ।

३. सुबिसु केबलनेट प्रालि

 नेपालको इन्टरनेट सर्भिस प्रोभाइडर मार्केटको झण्डै ७ प्रतिशत हिस्सा ओगटेको सुबिसुको स्थापना सन् २००१ मा भएको हो। सुबिसु गुणस्तर चिन्ह आइएसओ ९००१: २०१५ तथा २७००१:२०१३ प्राप्त गर्ने नेपालको पहिलो केबल अपरेटर पनि हो । पछिल्लो समयमा लोकप्रियता बढाउँदै लगेको सुबिसु नेपालको दोश्रो ठूलो आइएसपी बनिसकेको छ । सुबिसुले पनि मुलुकभर केबल तथा फाइबर इन्टरनेट तथा डिजिटल टीभी सेवा प्रदान गर्दै आएको छ । अहिले यो कम्पनीको प्याकेज विभिन्न तीन विधामा छ । जसमा क्लियर टीभीसहितको फाइबर इन्टरनेट, क्लियर टीभी र सुबिसुको आईपीटीभी सोलुसन रहेका छन् । सुबिसुले फाइबर तथा वायरलेस दुबै इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

१०० एमबीपीएस देखि ३०० एमबीपीएस स्पीडसम्मका सुबिसुको एफटिटिएच इन्टरनेटका विभिन्न प्याकेजको शुल्क वार्षिक १५ हजार ८ सय देखि २२ हजार ५ सय रुपैयाँ सम्म रहेको छ ।

४. क्लासिक टेक

 ‘छोयो कि चल्यो भन्ने नाराका साथ ग्राहकलाई तीव्र गतिको विश्वसनीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २००९ मा क्लासिक टेकको स्थापना भएको हो । क्लासिक टेक पनि नेपालमा ठूलो सञ्जालमा इन्टरनेट सेवा गरिरहेको कम्पनीमध्येको एक र आइएसपीको चौथो स्थानमा रहेको छ ।

 यो कम्पनीले पनि ३६५ दिन ग्राहक सेवा, वानस्टप सोलुशन र ग्राहकमैत्री योजनाजस्ता विभिन्न सेवा प्रदान गर्दै आएको छ । यो कम्पनीले घर तथा व्यावसायिक क्षेत्रको लागि विभिन्न किसिमको इन्टरनेट र टीभी प्याकेज दिँदै आएको छ ।

 क्लासिक टेकले एफटीटीएचमा आधारित इन्टरनेट सेवा र क्लासिक प्रभु टिभीको सेवा प्रदान गर्दै आएको छ। यो नेपालको पहिलो दोश्रो पुस्ताको टेरेस्टियल डिजिटल भिडियो ब्राडकास्टिङ सर्भिस हो ।

  क्लासिक टेकले पनि २२५ एमबिपिएस देखि ६२५ एमबिपिएस स्पीडसम्मको विभिन्न इन्टरनेट प्याकेज बिक्रि गर्दछ जसको शुल्क वार्षिक १३२०० देखि २९३८८ रुपैयाँ सम्म छ ।

५. नेपाल टेलिकम

नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी हो । यो कम्पनीले पनि विभिन्न इन्टरनेट सेवा प्याकेज ल्याएको छ । यसको सबैभन्दा आकर्षक प्याकेज एचटीटीएच नै हो । यो घर तथा कार्यालयका लागि उच्च गतिको विश्वसनीय इन्टरनेट सेवा प्रदान गर्ने नयाँ पुस्ताको प्रविधि हो ।

  टेलिकमको इन्टरनेट सेवा सन् २०१५ मा स्थापना भएको हो र अहिले यसको सञ्जाल नेपालको ३९ जिल्लामा फैलिएको छ । अहिले यो कम्पनीले २५ देखि ८० एमबीपीएसको इन्टरनेट सेवा दिँदै आएको छ जसको शुल्क वार्षिक १५८७५ देखि २२२७५ रुपैयाँ सम्म छ। वार्षिक ग्राहक बन्दा ग्राहकले एक सय मिटरको केबल र अन्य सामग्री निःशुल्क पाउँछन् भने त्रैमासिक वा मासिक ग्राहक बन्दा ग्राहकले तोकिएअनुसारको निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ ।

६.  डिसहोम फाइबर नेट

 डिसहोम नेपालको प्रमुख डिजिटल  टीभी सेवा प्रदायक मध्येको एक हो । डिसहोमले गत फेब्रुअरीदेखि डिसहोम फाइबर नेट सेवा ल्याएको छ ।

  कम्पनीका विभिन्न ६ फाइबर इन्टरनेट प्याकेज १०० एमबीपीएसदेखि २५० एमबीपीएससम्मको छ । यो कम्पनको सेवा काठमाडौं उपत्यकाको करिब ९० प्रतिशत स्थानमा उपलब्ध छ भने देश भरिमा हाल २२ जिल्लामा सेवा विस्तार गरिसकेको छ ।

   प्रयोगकर्ताले एक महिना, तीन महिना, ६ महिना वा एक वर्षको प्याकेज लिन सक्छन् । तर, वार्षिक प्याकेज लिँदा ग्राहकलाई धेरै फाइदा हुन्छ ।

७. नेट म्याक्स

 सन् २०१० मा स्थापना भएको नेटम्याक्स नेपालको अनुमति प्राप्त इन्टरनेट सेवा प्रदायक मध्ये एक हो । तीव्र गतिको र एकैनासको इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनीको दाबी छ ।

यो कम्पनीले गुणस्तरीय हार्डवेयर, स्केलेबल राउटिङ प्लेटफर्म र अप्टिकल फाइबर सहितको ठूलो सञ्जालका साथै एकैनासको इन्टरनेट र गति प्रदानका लागि वायरलेस ब्याकअपको सेवा पनि उपलब्रुध गराउँदै आएको छ ।

अहिले यो कम्पनीले सीमित क्षेत्रमा मात्र सेवा प्रदान गर्दै आएको छ। कम्पनीले ४० भन्दा धेरै वायरलेस टावरहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएको जनाएको छ ।

८.  सीजी नेट

हालै सार्वजनिक भएको सीजी नेट कम्पनी आकर्षक योजनाको कारण लोकप्रिय बनेको छ । यसले १२० एमबीपीएसको इन्टरनेट सेवा केवल ९९९ रुपैयाँ (करबाहेक)मा दिइरहेको छ ।

 नेपाली प्रयोगकर्ताहरुले यसअघि यो भन्दा निकै कम गतिको इन्टरनेटका लागि महँगो शुल्क तिरिरहेको अवस्थामा सीजीको यो अफरले चर्चा पाएको हो ।

यद्यपि, अहिले यो कम्पनीको सेवा ललितपुरमा मात्र सीमित छ र अन्य क्षेत्रको लागि भने यो कम्पनीले आफ्नो सेवा विस्तार गर्दासम्म पर्खिनुपर्ने हुन्छ ।

 त्यस्तै वेब सर्फर तथा ब्रोडलिंक जस्ता इन्टरनेट प्रदायक कम्पनीहरुका पनि ग्राहक संख्या उल्लेख्य छन् ।