धनगढीले थाल्यो सडक चौडा पार्ने कामको थालनी

सडकको दायाँ, बायाँ क्षत्रमा १५ मिटर क्षेत्र भित्र रहेका संरचना हटाउन नगरले भदौ १३ गते पत्राचार गरेको थियो

धनगढीले थाल्यो सडक चौडा पार्ने कामको थालनी

धनगढी । धनगढी । धनगढी उप महानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्ने योजना अन्तरगत सडकको क्षत्र भित्र पर्ने संरचना हटाउन सुरु गरेको छ ।

बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सम्मको सडक छेउका संरचना हटाउन डोजर लगाएको हो ।

बुधबार मुख्य बजार स्थित सेती प्रादेशिक अस्पतालले निर्माण गरेका भवनमा उप महानगरपालिकाले डोजर लगाएको हो ।  धनगढी उप महानगरपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई ३० मिटर चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन भदौ १३ गते घरधनीलाई पत्राचार गरेको थियो । तर हाल सम्म पनि कसैले सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना नहटाएपछि बुधबार डोजर प्रयोग गरी आफै संरचना हटाउन सुरु गरेको नगरप्रमुख गोपाल हमालले बताए । 

‘पहिलो चरणमा सरकारी कार्यालयका भवनमा डोजर लगाएका छौं,’ मेयर हमालले भने, ‘त्यसपछि नीजि भवनमा पनि डोजर प्रयोग गरिने छ ।’
धनगढी उप महानगरपालिकाले मुख्य बजार क्षेत्र (कैलाली पुल देखि क्याम्पसरोड) सम्मको सडक निर्माणका लागि डिपिआर तयार गरिरहेको छ । 

सडकको क्षत्र दुई हजार तीन सय मिटर लम्बाई र ३० मिटर चौडाई बनाउने गरी धनगढीले डिपिआर तयार गरिरहेको छ । डिपिआरको प्रारम्भिक विवरण अनुसार ४ लेनमा बन्ने सडकको मध्य भागमा ३० सीएम सम्मको ट्राफिक सेक्रेटरी लाईन राखिने छ । 

त्यसैगरी दाँया र बाँया डेढ–डेढ मिटरको साइकल लेन हुने छ । साईकल लेनपछि फुटपाथ र नाला हुने छ । जस्को चौडाई दुई देखि ३ मिटरको हुने छ । फुटपाथ पछि किनारमा वृक्षा रोपणका लागि थोरै ठाउँ बाँकी रहने धनगढी उप महानगरपालिकाका इन्जििनियर कमल ओझाले बताए । 

ओझाका अनुसार नयाँ सडक निर्माण गर्दा कैलालीपुल देखिको पानी पार्क मोडमा ल्याइने गरी नाली निर्माण हने छ । त्यसले मुख्य बजार क्षेत्रमा हुने डुवानको समस्या पनि समाधान हुने छ । पार्कमोडबाट अमित प्लाजा जाने बाटोलाई नालीमा परिणत गरेर सडकको पानी खोलामा मिसाईने छ । अमित प्लाजा जाने बाटोमा नाली माथी बाटो निर्माण गरेर पानीको निकास दिइने छ ।

त्यसैगरी सेती प्रादेशिक अस्पताल देखि पश्चिम क्षेत्रको पानी पनि पार्क मोडमै ल्याएर खोलामा मिसाईने गरी डिपिआर तयार भइरहेको छ । सेती प्रादेशिक अस्पतालबाट पुर्वको पानी जिल्ला प्रहरी कार्यालयको खोलामा मिसाईने गरी नाली निर्माण गरिने छ । 

सडकमा हुने सवारी चापलाई कम गर्न मुख्य बजार क्षेत्रका कम्तिमा दुई ठाउँमा पार्किङको व्यवस्थापन हुने छ । त्यसका लागि भेटेनरी अस्पतालको अगाडी र जिल्ला प्रशासन कार्यालय अगाडीको जग्गा उपयुक्त हुने देखिएको ओझा बताउँछन् । तर त्यस विषयमा अहिले छलफल भने भएको छैन ।

डिपिआर निर्माण सीभिल इन्जिनियरिङ रिसर्च एण्ड कन्सल्ट प्रा.लि ललीतपुरले गरिरहेको छ । प्रारम्भिक प्रतिवेदन अनुसार सडक निर्माणका लागि कम्तिमा ३७ करोड बजेट आवश्यक पर्ने देखिएको छ । 

धनगढी उप महानगरपाकिलाले हाल सडकको डिपिआर बनाउन र सडकको क्षेत्र भित्र पर्ने संरचना हटाउनका लागि प्रचार प्रसार गर्न भन्दै १ करोड बजेट छुट्याएको छ ।