सृज्या थापा
सोमबार, २९ असार २०७७ मा प्रकाशित
मिति २०७६÷१२÷१३ गतेका दिन लकडाउन सुरु भए सँगै सुरु भयो मान्छे मान्छे बीचको दुरी । उसो त भावनात्मक रुपमा धेरै पहिले देखि नै मानिस बीच दुरीहरु सिर्जना भइरहेको थियो तर लकडाउनका कारणले सुरु भयो भौतिक र सामाजिक दुरी पनि ।
जीवन एउटा प्रतिध्वनि हो, जे दिन्छौ त्यही फिर्ता पाउछौ । कोरोना भाइरस पनि मानव क्रियाकलापको नै नतिजा हो । कोरोना भाइरसले अस्तव्यस्त भएको जीवन फेरी कहिले पुरानै रुपमा सामान्य हुन्छ भनी भन्न चाहिँ सकिदैन तर आशा छ चाडै नै यसको अन्त्य होस् । भाइरस एक भएता पनि यसले निम्त्याएका असरहरु थुप्रै छन्, असरहरु पनि मानिस पिच्छे फरक–फरक छन्, यसै सन्दर्भमा एउटा सानो प्रयास :
कोही सँग मीठो आहार, त कोही भोकको शिकार
कतै कालोबजारी, त कतै गैरजिम्मेवारी
दाम्पत्य जीवनको डोरी कतै कसिदै छ त कतै फुत्किदै
फरक यति हो कतै प्रेमको भाइरस मौलायो त कतै घृणाको
पढाइको पिरले कतिको मन पिरोलिएको होला,
कति को मन भने पढाइ बाट छुट्कारा पाएर फुरुङ्ग होला
वैदेशिक रोजगारले कतिको मन पिल्सिएको र कैयौ रात सिरानी भिजेका होलान्,
त कतै लकडाउनका कारणले परिवारसँगको सम्बन्ध अझै गाढिएको होला
कैयौ गोजी भरिदै छन् त कैयौ रित्तिदै पनि,
कैयौ जीवन सप्रिदै छन् त कैयौ भत्किदै पनि
कोहीलाइ धन र रुपको मात,
कोहीलाई केवल सासको मात्र आस
नाटक त भइरहेको छ नि, फरक यति हो कतै टिकटकमा त कतै वास्तविक जीवनमा ।
(थापा एशियन कलेज फर एडभान्स स्टडिजमा
बी.पी.एच छैठौँ सेमेष्टर अध्ययनरत छन् )