सुदुरपश्चिम प्रदेश सरकारले भलमन्सा प्रथालाई कानुनी मान्यता दिने

भलमन्साबारे कानुन निर्माण प्रकृया शुरु भएको छ : मुख्यमन्त्री शाह

भलमन्साबारे कानुन निर्माण प्रकृया शुरु भएको छ : मुख्यमन्त्री शाह

धनगढी  । सुदुरपश्चिम प्रदेश सरकारले बरघरहरुको लागि कानुन  निर्माण गर्ने भएको छ । थारु समुदायमा  सामाजिक सांस्कृति प्रथाको रुपमा रहेको बरघरलाई कानुनी मान्यता दिन  प्रदेश सरकारले प्रकृया अघि बढाएको छ ।

साँस्कृति सामाजिक परम्पराको रुपमा रहेको बरघरलाई संरक्षण गर्न र कानुनले चिन्ने बनाउन कानुन बनाउन प्रदेश सरकार प्रतिबद्ध छ ।  शनिबार कैलाली कन्चनपुरका बरघरहरुसँगको छलफलमा सुदुरपचिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने कानुन निर्माणको प्रकृया अब अघि बढिसकेको छ । 

सुदुरपश्चिमका कैलाली र कन्चनपुर जिल्लामा थारु बाहुल्यता छ । थारु समुदायले हरेक बर्ष माघ महिनामा बरघरको चयन गर्ने गर्दछन् । एक बर्षका लागि चयन हुने बरघरले गाउँमा सामाजिक सांस्कृतिकका साथै बिकास निर्माण र सचेतनाका कामको नेतृत्व गर्ने गर्दछन् ।

मुख्यमन्त्री शाहले बरघर प्रथाको सामाजिक सांस्कृतिक पक्ष कमजोर नहुने गरि बनाउनु पर्नेमा जोड दिदै भने कानुन बनाउदा यो अझै प्रभावकारी र सांस्कृति हुनु पर्छ ।

बरघर प्रथाबारे कानुन बनाउदा यसलाई राजनितीबाट टाढा कसरी राख्न सकिन्छ भनेर सुझाव दन आग्रह गर्दै मुख्यमन्त्री शाहले भने तपाईहरु समुह समुहमा बिभाजित भएर हैन, एक भएर सुझाव दिनुस्, त्यसले कानुन बन्न सहज हुन्छ ।

सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले सामाजिक सांस्कृति प्रथाको रुपमा रहेको बरघर प्रथालाई कानुनी मान्यता  दिदा हुने जोखिमको पनि बिश्लेषण गर्न आवश्यक रहेको बताए । हामी सही मनसायले यसलाई कानुनी दायरामा ल्याउन खोजिरेका छौं । तर कही यसबाट जोखिम आउछ कि आउदैन ? प्रमुख सचिव लम्सालले भने  बिगतमा बिद्यालय व्यवस्थापन समिति र सामुदायिक बन उपभोक्ता समुहका बारेमा सबैको सहभागिता होस् भने भनेर कानुन बनाए पनि पछि राजनीति हावी भएको थियो ।  बरघर प्रथाका बारेमा कानुन बनाउदा कही यस्तै त हुने हैन ?

 बरघर प्रथामा राजनीति नफसोस्, दलीय चुनावमा नफसोस भनेर  शुरुमै ख्याल गर्न आवश्यक रहेको प्रमुख सचिव लम्सालले बताए ।

प्रदेश सभा सदस्य गीता चौधरीले थारुहरुमा कायम रहेको बरघर प्रथामा अहिले अरु समुदायको पनि सहभागिता बढ्दै गएको बताउँदै कानुन बनाएर यसलाई मान्यता दिन आवश्यक रहेको बताइन् ।

पत्रकार लखन चौधरीले धेरै पालिकाहरुले बरघर प्रथाबारे कानुन बनाए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै कार्यान्वयन हुने कानुन बनाउनु पर्ने बताए । 

बेलौरी नगरपालिकका बिक्रम चौधरीले न्याय सम्पादन, बिकास निर्माण र सामाजिक संरक्षणका काममा बरघरहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । बरघर प्रथाले कानूनी मान्यता नपाए पनि समाजमा नेतृत्वदायी काम गरिरहेको बताउदै बिक्रमले कानुनी मान्यता पाएमा अझै सहज हुने बताए ।

रमा चौधरीले  बरघर चुन्ने प्रकृयामा सबैको सहभागिता हुनु पर्ने बताइन् । बरघर प्रथामा राजनीतिकरण गर्न नहुने बताउदै रमाले राजतिीबाट टाढा राख्न सके मात्र यसको महत्व कायमै रहने बताइन् ।