धनगढी पोष्ट मङ्गलबार, ३१ असार २०८२   July 15, 2025

कैलालीमा छ लाख २० हजार बढी पशुमा खोरेत रोगको खोप

कैलालीमा छ लाख २० हजार बढी पशुमा खोरेत रोगको खोप

धनगढी । कैलालीमा तीन वर्षमा छ लाख २० हजार चार सय ११ पशुमा खोरेत रोगको खोप लगाइएको छ । आर्थिक वर्ष २०७९÷०८० देखि चालु आर्थिक वर्ष २०८१÷०८२ सम्म जिल्लाका १३ वटै स्थानीय तहका गाई, भैंसी, गोरु, बङ्गुर,   बाख्रालगायतका पशुमा खोप लगाइएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा.विनोदबहादुर कठायतका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा दुई लाख ९३ हजार छ सय ५० पशुमा खोरेत रोगको खोप लगाइएको छ, भने गत आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख ३६ हजार एक सय पशुमा खोप लगाइएको थियो । 

आर्थिक वर्ष २०७९÷०८० मा एक लाख ९० हजार छ सय ६१ पशुमा खोप लगाइएको उनले बताए । आर्थिक वर्ष २०७९÷०८० को तुलनामा गत आर्थिक वर्ष २०८०÷०८१ मा ५४ हजार पाँच सय ६१ कम पशुमा खोप लगाइएको थियो । 

उनका अनुसार चालु आर्थिक वर्षमा धनगढी उपमहानगरपालिकामा २८ हजार एक सय, गोदावरी नगरपालिकामा ४५ हजार, गौरीगङ्गा नगरपालिकाका ४४ हजार ५०, घोडाघोडी नगरपालिकाका १९ हजार नौ सय र लम्किचुहा नगरपालिकामा २० हजार खोप लगाइएको छ ।  

उनले टीकापुर नगरपालिकामा २५हजार, भजनी नगरपालिकामा २० हजार नौ सय, जोशीपुर गाउँपालिकामा १९ हजार नौ सय र बर्दगोरिया गाउँपालिकामा १५ हजार चार सय पशुमा खोप लगाइएको बताए ।

कैलारी गाउँपालिकामा २० हजार नौ सय, जानकी गाउँपालिकामा १९ हजार नौ सय, चुरे गाउँपालिकामा तीन हजार तीन सय र मोहन्याल गाउँपालिकामा ११ हजार तीन सय पशुलाई खोप लगाएको उनले बताए । 

उनका अनुसार खोरेत रोग नियन्त्रण गर्नका लागि कार्यालय र स्थानीय तहले देखाएको संक्रियतालगायत स्थानीयमा रोग सम्बन्धी जनचेतना फैलिएकाले गर्दा पनि वर्षेनी खोप लगाउनेको संख्या बढ्दै जान थालेको छ ।

उनले पशुहरुको पनि संख्या दैनिक बढ्दै जान थालेकाले पनि खोप लगाउनेको संख्या बढेको बताए । आफूहरु प्रत्येक गौशाला, छाडा पशुचौपाय र घरपालुवा जनावरमा नछुटाई खोप लगाउँदा पनि खोपको प्रभावकारीता बढेको उनको भनाइ छ । आगामी वर्षमा चालु वर्षको तुलनामा १० प्रतिशतले खोप वृद्धि गरेर लगाउने लक्ष्य रहेको उनले बताए ।

खोरेत रोग लागेमा मुखभित्र (गिँजा, जिब्रो, थुतुनो अदिमा) स–साना पानीका फोका देखापर्ने, अत्यधिक ज्वरो आउने, दूधालु गाईभैँसीले अचानक दूध दिन कम गर्ने र छोड्ने, जनावरको खुरको कापमा फोका र घाउ देखिने, खुर पाक्ने, कल्चौँडो र थुनमा घाउ देखिने तथा थुनेलोसमेत हुनसक्ने, एक दुई दिनपछि पानीको फोका फुटी आलो घाउ देखा पर्नुका साथै लस्सादार र्याल बग्नेलगायत लक्षण देखिन्छन् । खोरेत रोगको खोप ६÷६ महिना गरेर वर्षमा दुई पटक लगाइने गरिन्छ ।