धनगढी पोष्ट बुधबार, १८ भदौ २०८२   September 3, 2025

डा. केसीले तोडे सत्याग्रह

डा. केसीले तोडे सत्याग्रह

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा रहेको सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन दिने सत्याग्रहमा बसेका चिकित्सक डा. गोविन्द केसीले सत्याग्रह तोडेका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले आज दिउँसो कञ्चनपुरका ५२ वर्षीय पृतिम चौधरीको हातबाट जुस पिएर तीन दिने सत्याग्रह तोडेका हुन् ।

आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. केसीको मंगलबार ग्लुकोजको मात्रा ३७ पुगेको थियो। आइतबार अपराह्नबाट सत्याग्रह सुरु गरेका डा. केसीले मंगलबार दिउँसो तोडेको उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए । तेइसौँ सत्याग्रह थालेका डा. केसीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्ने, शुल्क वृद्धि नगर्नुपर्ने, सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने माग गरेका छन् ।

दोस्रो मागमा उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्नुपर्ने बताएका छन् । यसअघि भएका सबै सम्झौता र माग कार्यान्वयन तथा पूरा गर्नुपर्ने उनको माग छ । लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र त्यसको सुनिश्चितता गर्न नेपाल सरकारसँग उनले माग गरेका छन् ।

चौथो मागमा उनले युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायलसमक्ष माग गरेका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय संघर्ष समितिको समेत सत्याग्रह तोड्ने कार्यक्रममा उपस्थिति रहेको थियो ।