धनगढी पोष्ट बुधबार, १३ कार्तिक २०८३   October 28, 2026

गेटामा एमबीबीएस सञ्चालनको निर्णय खारेज नभए अनसन बस्ने डा. केसीको चेतावनी

धनगढी । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेज गर्नुपर्ने  माग गर्दै आएका प्रा. डा. गोविन्द केसीले सरकारलाई दुई दिनको थप समय दिएका छन् । माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने उनले चेतावनी दिएका छन् । उनले न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटाको विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गरेका छन् । यस्तै, नेपाली आर्मी मेडिकल कलेजसहित विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णयसमेत बदर गर्नुपर्ने उनको माग छ ।

त्यस्तै, निर्णय प्रक्रियामा संलग्न आयोग र विश्वविद्यालयका पदाधिकारीमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा अयोग्य र स्वार्थको द्वन्द्व देखिएका पदाधिकारीलाई बर्खास्त गर्न उनले माग गरेका छन् । डा. केसीले गत कात्तिक २ गते सरकारलाई सात दिनको अल्टिमेटम दिएका थिए । दसैँ बिदाका कारण माग सम्बोधन गर्न सरकारलाई पर्याप्त समय नपुगेको भन्दै उनले अल्टिमेटमको अवधि दुई दिन थपेका हुन् । थपिएको समयभित्र पनि माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम अघि बढाउने उनले बताएका छन् । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको भनाइ छ ।