धनगढी पोष्ट
शुक्रबार, २२ जेठ २०८३ मा प्रकाशित
धनगढी । गेटा आँखा अस्पतालले कर्मचारीहरुलाई महंगी भत्ता बापतको रकम यही जेठ महिनााको तलबसँगै उपलव्ध गराउने भएको छ । कर्मचारीहरुले माग गरे बमोजिम आर्थिक बर्ष २०८२।२०८३ मा सरकारले उपलव्ध गराएको महंगी भत्ता यसै जेठ महिनाको तलबसँगै दिने निर्णय भैसकेको अस्पतालका सुचना अधिकारीद्धारा आज (शुक्रवार) जारी बिज्ञप्तिमा जनाइएको छ ।
महंगी भत्ता नदिएको भन्दै गेटा आँखा अस्पतालका कर्मचारीहरु जेठ ४ गतेदेखि आन्दोलनमा छन् । कर्मचारीको आन्दोलनका कारण अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भैरहेको छ ।
अस्पतालको संगठन र व्यवस्थापन सम्बन्धि बाँकी कार्यमा गेटा आँखा अस्पताल व्यवस्थापन समितिले आफ्नो राय सहित यथाशीघ्र केन्द्रमा पठाउने तथा केन्द्र बाट स्वीकृत भएको दरबन्दीमा नियमानुसार पदपूर्ति र बढुवा गरिने समेत बिज्ञप्तिमा उल्लेख छ ।
जेठ २० गते प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र महताको उपस्थितिमा स्थानीय वासिन्दा सहित भएको वार्तामा अस्पताल व्यवस्थापन समितिले मागहरु यथाशीघ्र सम्बोधन गर्ने र पुरा गर्न नसकिने मागहरु नेपाल नेत्रज्योति संघको केन्द्रीय कार्यालयमा सिफारिश गरि पठाउने सहमति भएको थियो । उक्त सहमति र अस्पतालले निर्णय गरिसके पनि अझै दैनिकरुपमा स्थानीयहरुले अस्पताल प्रशासनमा आई असहज परिस्थिति सिर्जना गरेको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा भनिएको छ ‘अस्पतालका केही कर्मचारीहरुले बिना पुर्व सूचना र स्वीकृति तथा आफ्नो अधिकार दावी गर्दै सेवाग्राहीको मानवाधिकार ख्याल नगरी जेठ ४ गते ९ बजेबाट ११:३० बजे सम्म अकस्मात सबै सेवाहरु ठप्प पारि अस्पताल प्रमुख र बरिष्ठ प्रशासकीय अधिकृतको कार्यकक्षमा काम गरिरहेको अवस्थामा जबर्जस्ति बाहिर निकाली तालाबन्दी गरेको र उक्त दौरानमा अस्पतालका बरिष्ठ अधिकारीहरुलाई अमर्यादित र अशिष्ट भाषा तथा व्यवहारको प्रदर्शन गर्दै लखेट्ने धम्कि दिएको, जेठ ५ गते बाह्य कार्यक्रम व्यबस्थापकको कार्यकक्षमा समेत तालाबन्दी गरेको थियो । नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालय बाट सो सम्बन्धमा माग सम्बोधन भएको भनि ७ गते कर्मचारीहरुले तालाबन्दी खोलेको र अस्पतालको सबै सेवाहरु सुचारु भएको थियो ।’
अस्पताल प्रशासनले संविधान प्रदत्त अधिकारको रक्षा गर्दै कर्मचारीले समेत आफ्नो अधिकार प्रयोग गर्न उत्प्रेरित गरेको तर तालाबन्दीको दौरानमा केही कर्मचारीहरुले कर्मचारी आचार संहिता र आचरण विपरित कार्य गरेको ठहराई के कसो भएको हो स्पष्ट पार्न लिखित पत्राचार गरिएकोमा सोहि विषयलाई मुख्य विरोधको विषय बनाई कर्मचारीको साथमा आफुलाई स्थानीय भनेर चिनाउने समुहले ऐक्यवद्दता जनाई जेठ १९ गते ४०।५० जनाको समुहले अस्पताल प्रशासनमा कार्यरत कर्मचारीहरु, अस्पताल प्रमुख लगायत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र उपाध्यक्षलाई घेराउ गरि अभद्र व्यवहार, डर धम्कि दिएको तथा गाली गलौच गरेको अवस्था सिर्जना गरिएको बिज्ञप्तिमा उल्लेख छ ।