धनगढी पोष्ट
मङ्गलबार, १७ भदौ २०८३ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय र शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वविद्यालय गेटाबीच प्रदेश सरकारका चार अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सामाजिक बिकास मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव डा. निरज अर्याल र बिश्वबिद्यालयका रजिष्टार डा. भीम बहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वविद्यालयले स्नातक तहका कार्यक्रम सञ्चालनका लागि प्रकृया अघि बढाएकोले बिश्वबिद्यालयसँग सम्झौता गरिएको सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव डा. अर्यालले बताए
‘प्रदेश मातहतका चार अस्पतालहरु, सेती प्राविधिक अस्पताल, महाकाली प्राविधिक अस्पताल, टीकापुर अस्पताल र लम्की अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न दिने सम्झौता भएको छ ।’ डा. अर्यालले भने ‘बिश्वविद्यालयमा अध्ययनरत एमबीबीएसका बिद्यार्थीहरुले ती अस्पतालहरुलाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न पाइने भन्ने हो ।
डा. अर्यालका अनुसार सम्झौता अनुसार शिक्षण अस्पतालका रुपमा प्रयाग गर्न दिदा प्रदेश सरकारको आर्थिक दायित्व केही हुँदैन । बिश्वविद्यालयले कार्यक्रम गर्दा, शिक्षण सिकाई गर्दा अति आवश्यक उपकरण थप्न परयो, केही भौतिक पुर्वाधार बनाउन परयो अथवा त्यहाका जनशक्ति प्रयोग प्रयोग गर्दा दिने पारिश्रमिक बिश्वबिद्यालयले नै प्रदान गर्ने व्यवस्था सम्झौतामा रहेको डा. अर्यालले बताए ।
‘यति भएपछि सुदुरपश्चिम प्रदेशको बिश्वविद्यालयमा स्नातक तहको कार्यक्रम यसै आर्थिक बर्षमा आउँछ भन्ने आशा हो ।’ डा. अर्यालले भने ‘गेटामा ५ शय बेड छन्, तर खाली बेड हेरेर अनुमति पाइदैन । खाली बेड हेरेर चिकित्सा शिक्षा आयोगको निरीक्षण टोलीले मान्दैन । भौतिक निरीक्षणका क्रममा अस्पताल संचालनमा हुनुपर्छ । निरीक्षणका क्रममा अस्पतालमा कम्तिमा ७० प्रतिशत बेड अकुपेन्सी हुनु पर्ने चिकित्सा शिक्षा आयोगको नियम छ ।’
शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वविद्यालयले एमबीबीएसका ५० बेड र स्नातक तहका अन्य चार कार्यक्रम संचालनका लागि चिकित्सा शिक्षा आयोगमा आवेदन दिएको छ । ती कार्यक्रमको स्वीकृति भौतिक पुर्वाधार हेरेर चिकित्सा शिक्षा आयोगले दिने हो । डा. अर्याल भन्छन् ‘शिक्षण अस्पतालले हाम्रा शिक्षण अस्पतालहरुलाई हेर्छ, ठीक छ, बिरामीको संख्या ठीक छ, ठाउँ ठीक छ भनेर भनेपछि बल्ल बिश्वबिद्यालयले अनुमति पाउने हो ।’
शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वविद्यालयका रजिष्टार डा. भीम बहादुर चन्द बिश्वबिद्यालयको ऐनमा भएको प्रदेशमा सञ्चालित अस्पतालमा बिश्वविद्यालयको तालिम केन्द्र, आउटरिच सेन्टर गर्न मिल्ने गरि शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न सकिनेछ भन्ने ब्यवस्था बमोजिम चार अस्पतालसँगको शैक्षिक सहकार्य भएको बताए ।
डा. चन्दले भने ‘हामीसँग अहिले ५ शय बेडको अस्पताल त छदैछ, त्यसैले अस्पताल नभएर होइन, तर थप एडिशनल भ्यालुका लागि प्रादेशिक अस्पतालहरुसँग शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सम्झौता भएको हो ।’
डा. चन्दले भने ‘हामी ३ शय बेडका लागि पर्याप्त छौं । हामीलाई कसैको अस्पताल चाहिने हैन, तर चलेका अस्पताललाई पनि शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न सकिनेछ भन्ने ऐनको धारालाई प्रयोग गरेर चलेका अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्नका लागि सम्झौता गरिएको हो ।’