सम्पादकीय

सीमा समस्याको समाधान आवश्यक

छिमेकी कुनै पनि व्यक्ति व्यक्ति र परिवार मात्र हैन, देशका  पनि सबै भन्दा नजीकका मित्र हुन्छन् ।  नजीकपनकै कारण मित्रता आत्मीय मात्र हुदैन, कतिपय सन्दर्भमा खटपट पनि हुन्छ । तर एउटै प्रकृतिका घटना पटक पटक दोहोरिनु असल मित्रताको परिचय हैन ।   नेपाल र भारतका बीचमा पनि महाकाली नदीमा नेपालीमाथि भारतीय  पक्षबाट पटक पटक दुव्र्यवहारका  घटना हुदै आएका छन् । पछिल्लो पटक भारतीय निर्माण कम्पनीले  महाकाली नदीको किनारामा बिष्फोट गराउदा  ढुंगा लागेर नेपाली बालकको मृत्यु भएको छ । एक बालिका घाइते भएर उपचार भैरहेको छ । सीमा नदीमा बिना जानकारी गराएको बिष्फोटले एक नेपालीको  मृत्यु हुनु सीमामा देखिएको खराब सम्बन्ध अथवा नेपाली पक्षलाई नटेरेको रुपमा बुझ्न सकिन्छ ।

 महाकाली सीमा नदी हो । सीमा नदीमा कुनै पनि काम गर्दा अर्को पक्षलाई पुर्व जानकारी दिने  मात्र हैन, स्वीकृति नै लिनु  पर्ने हुन्छ । तर महकाली नदीममा भारतीय पक्षबाट  पटक पटक नेपालीको स्वीकृति बिना नै हुने कामले नेपाली नागरिकले ज्यान गुमाउनु पर्ने गरेको छ । केही समय अघि मात्र भारतीय सीमा सुरक्षा बलले तुइन काटेपछि तुइनमा महाकाली नदी तरिरहेका एक नेपाली युवकको मृत्यु भएको  थियो ।  महाकाली नदीमा भैरहेका यस्ता किसिमका भारतीय क्रियाकलापले सीमामा रहेका नेपाली नागरिकहरुले जोखिम व्यहोनु परिरहेको मात्र छैन,  नेपालको संप्रुभत्तामाथि  भारतीय पक्षबाट प्रश्न खडा गरिएको छ ।  नेपालको परराष्ट नीति र सामर्थतामाथ पनि यसले प्रश्न गरिरहेको छ । 

  भारतीय  बिष्फोटबाट नेपाली बालकको मृत्यु भएको  घटनामा भारतीय पक्षले कमजोरी स्वीकादै क्षतिपुर्ति दिने कार्य सकारात्मक छ । तर गल्ती स्वीकार्ने र क्षतिपुर्ति दिने कार्य मात्रैले  आगामी दिनमा यस्ता घटना नदोहोरिने कुराको प्रत्याभुति भएको छैन ।  सीमा नदी महाकालीको छेउमा  भारतीय पक्षले बिष्फोट गराउने, नदीको सुरक्षा गर्ने कार्य निरन्तर छ । त्यस क्रममा बिष्फोट गराउँदा सीमावर्ती नेपाली पक्षलाई जानकारी गराउने कार्य पनि हुने गरेको छैन । आफ्ना नागरिकको सुरक्षाको लागि नेपाल सरकारे गम्भीरता हुन जरुरी छ ।

यसपटकको घटनाको लगत्तै नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएर आफ्नो चासो प्रकट गरेको छ । बिगतका घटनामा यस्ता कुटनितीक नोट पनि पठाउने गरिएको पाइदैन,  नागरिक स्तरबाट धेरै दवाव सिर्जना भएपछि निकै पछि पठाइने गरिन्थ्यो । तर कहिल्यै पनि भारतीय पक्षले त्यसको जवाफ दिएको छैन, यसपटक पनि जवाफ आउने आशा गर्न सकिदैन । अब आफ्नो चासो व्यक्त गर्ने मात्र हैन, सीमा नदीमा हुने   यस्ता प्रकारका घटनाहरु नदोहोरिन दिन सरकारले थप सक्रियता देखाउन आवश्यक छ ।

सीमा क्षेत्रमा हुने यस्ता घटनाहरुमा नागरिक तहबबाट उठ्ने आक्रोश स्वभाविक छ । तर ती आक्रोशले समस्याको समाधान गर्दैनन्,  सरकारकै सक्रियता जरुरी छ ।  सरकारले कुटनितीक रुपमा र कतिप सन्दर्भमा राजनैतिक रुपमा ती समस्याहरुको सम्वोधन गर्नु पर्दछ । यसका लागि राजनैतिक नेतृत्व सबल हुनु पर्छ, कुटनितीक सामथ्र्यता आवश्यक छ ।  सरकारले आफ्ना  सामथ्र्य बढाएमा मात्र देशको हित र सीमाको समस्या न्युनीकरण हुन सक्दछ । सरकार यसै दिशामा अघि बढ्नु नागरिकको सुरक्षाा र सीमाको लागि आवश्यक छ ।