धनगढी पोष्ट मङ्गलबार, १० भदौ २०८३   August 25, 2026

संविधान संशोधन विधेयक संसदबाट आज पारित हुँदै

संविधान संशोधन विधेयक संसदबाट आज पारित हुँदै

काठमाडौं

     प्रतिनिधि सभाको आजको बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित हुने भएको  छ । आज दिउसो १ बजे संसद बैठकका लागि उक्त कार्यसूची तय भएको छ ।

    कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावी सहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।

     यही जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए ।

    समाजवादी पार्टीकी सांसद सरिता गिरीले भने सरकारले ल्याएको नयाँ नक्सा अनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी छन् । समाजवादी पार्टीले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।