धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

उदयदेव सहकारीद्धारा बाढी पहिरो प्रभावितका लागि २ लाख ११ हजार सहयोग

उदयदेव सहकारीद्धारा बाढी पहिरो प्रभावितका लागि २ लाख ११ हजार  सहयोग

धनगढी  । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको  छ ।

कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको उदयदेव सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार सहयोग रकम  जम्मा गरेको छ ।सहकारीले यसअघि बाढी आएको दोश्रो दिन नै ११ हजार रुपैया इसेवाबाट सहयोग गरिसकेको छ । 

बिपद कसैको एक्लो समस्या नभएको र बिपदको समाना गर्नु सबैको साझा जम्मेवारी रहेको  उल्लेख गर्दै  सहकारीका अध्यक्ष  नारा जोशी र प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दद्धारा प्रकाशित बिज्ञप्तिमा भनिएको छ  ‘यस कठिन परिस्थितिमा  प्रभावित नागरिकको तत्काल आवश्यकता र कठिनाईलाई मध्यनजर गर्दै यस संस्थाको तर्फबाट बाढी प्रभावित क्षेत्रका वासिन्दाको राहततथा पुनस्र्थापनाको लागि सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

सहकारीले गत भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा जुट्न सबैमा अपिल गरेको छ ।

सुदूरपश्चिम प्रदेशलाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गर्दै आएको उदयदेव बहुउद्देश्यीय सहकारीले व्यवसायीक गतिविधिसँगै सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । साथै सहकारीले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।