धनगढी पोष्ट
शनिबार, १४ भदौ २०८३ मा प्रकाशित
धनगढी । आज ब्यापार हैन, देशका लागि भन्ने नाराका साथ धनगढीको हसनपुर कभर्डहलस्थित गोठाले बेकरीले आप्mनो एक दिनभरिको कारोवार रकम बाढी पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । भदौ १३ गते शनिबार दिनभरि पसलमा आएका ग्राहकहरुले खाएको बराबरको रकम गोठालो बेकरीले नलगेर ग्राहकहरुलाई सिधै कोषमा जम्मा गर्न लगाएको हो ।
‘दिनभरि पसलमा आउनु हुने ग्राहकहरुलाई बील हामीले दिएका छौं ।’ गोठालो बेकरीका सञ्चालक बिबेक बिनाडीले भने ‘तर ग्राहकहरुबाट हामीले पैसा नलगेर अनलाइनबाट सिधै प्रधानमन्त्री बिपद राहत कोषमा जम्मा गर्न लगाएका छौं ।’ पसलमा आएका कतिपय ग्राहकहरुले आफुले तिुर्न पर्ने भन्दा बढी रकम अनलाइनबाट कोषमा पठाएको सञ्चालक बिनाडीले बताए ।
सधै व्यापार गरिरहेको भए पनि एक दिन बिपदका लागि भने दिनभरिको कारोवारको हिसाब मात्र राखेर रकम कोषमा जम्मा गर्न लगाएको बिनाडीले बताए ।
बिन्ती देश नछोडौं नाराका साथ सञ्चालन भैरहेको गोठालो बेकरी मौलिक परिकारका लागि प्रसिद्ध छ ।