धनगढी पोष्ट
शनिबार, ३१ जेठ २०७७ मा प्रकाशित
धनगढी,
घोडाघोडी नगरपालिकाको आइसोलेसनमा रहेका एक कोरोना संक्रमितलाई निको नहुँदै घर पठाइएको छ । घोडाघोडी–११ का ती व्यक्तिलाई कोरोनाका कुनै लक्षण नै नदेखिएको भन्दै घर पठाइएको हो ।
घोडाघोडी नगरपालिकाकै आइसोलेन वार्डमा बस्दै आएका ती व्यक्तिलाई शनिबार आफ्नै घरको होम क्वारेण्टाईनमा बस्ने सुझाव दिंदै घर पठाइएको मेयर ममता प्रसाद चौधरीले बताए ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमण पुष्टी भइ कुनै लक्षण नदेखिएका व्यत्तिलाई घर पठाउन पत्र पठाएको थियो’ मेयर चौधरीले भने– ‘स्वास्थ्य निर्देशनालयको सोही पत्रलाई आधार मान्दै हामीले संक्रमितलाई घर पठाएका हौं ।’
घर पठाइएका संक्रमितको एक हप्तासम्म नगरका स्वास्थ्यकर्मीले नियमित निगरानी गर्ने उनले बताए । ती व्यक्ति घोडाघोडीको आइसोलेसनमा १४ दिन बसेका थिए ।
‘ भारतबाट आएका ३२ वर्षे संक्रमित पुरुषमा जेठ १७ गते कोरोना पुष्टि भएको थियो’ प्रमुख चौधरीले भने– ‘कोराना पुष्टि भएपछि सेती अस्पतालमा भर्नाका लागि पठाएका थियौं, तर अस्पतालले लक्षण नदेखिएको भन्दै भर्ना लिन नमानेपछि हामी आफैले स्थानीय तहको आइसोलेसनमा १४ दिन राखेर विदा गरेका हौं ।’