धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024
धनगढी उपमहानगरमा कोरोना परिक्षणमा तिब्रता

सोमबार सम्म समुदायका ३ सय ५० जनाको स्वाव संकलन

सोमबार सम्म समुदायका ३ सय ५० जनाको स्वाव संकलन

धनगढी

  सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण बढेपछि धनगढी उपमहानगरपालिकाले बिभिन्न वडामा समुदाय स्तरमै स्वाव संकलन गरिरहेको छ ।

 पछिल्ला केही दिन यता उपमहानगरका बिभिन्न वडामा समुदायमा कोरोना संक्रमण देखिएपछि उपमहानगरले कन्ट्रयाक्ट ट्रेसिङ्ग अन्तरगत समुदायबाट स्वाव संकलन गरि परिक्षण गराईरहेको हो ।

  सोमबार सम्म मात्र धनगढीका बिभिन्न वडाबाट ३ सय ५० जनाको पिसिआरका लागि स्वाव संकलन गरिएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए । नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि पिसिआर परीक्षणको दायरा बढाईएको छ । सोही अभियान अन्तरगत ६ वटा स्थानमा क्याम्प संचालन गरेको छ ।

जसमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु रहेका छन् ।

सोमबार सम्म धनगढी उपमहानगरमा ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा १ सय ३१ जना स्थानीय संक्रमित रहेका स्वास्थ्य निरिक्षक उपाध्यायले बताए  ।

यसैगरी संक्रमित मध्य १ सय ९८ जना संक्रमण निको भई घर फर्किसकेका र एक जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । स्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार वाँकी संक्रमित मध्य ६४ जना होम आईसोलेसनमा बसेका छन् भने ३४ जना सेती प्रादेशीक अस्पताल संगै नगरपालिकाले संचालन गरेका आईसोलेसनमा बसेका छन् ।

  ‘समुदायमा संक्रमण बढेपछि उपमहानगरपालिका निरन्तर कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा स्वाव संकलन गर्ने र परीक्षण गर्ने काममा जुटेको छ धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले भने– ‘यसको दायरा बढाउदै लगिने छ, बढी जोखिम देखिएका ८ देखि १० वटा वडामा समुदायमा स्वाव संकलन गरि परिक्षण गर्ने छौं ।

 उपमहानगरपालिकाले पुरै ध्यान कोरोना संक्रमण फैलन रोक्न तर्फ लगाएको बताउँदै नगरप्रमुख वडले यस अभियानमा नगरवासीको पनि साथ र सहयोग आवश्यक रहेको उल्लेख  गरे । उनले भने–‘हामीले गत चैत देखि नै कोरोना संक्रमण नियन्त्रणका लागि सबैसंग समन्वय गरि अघि बढेका छौं, अझै यसलाई निरन्तरता दिने छौं । साथै नगरप्रमुख वडले सामाजिक दुरी कायम गरि स्वास्थ्यका मापदण्ड पालना गरी उच्च मनोवल बनाए कोरोनालाई पराजित गर्न सकिने बताउँदै सम्पुर्ण नगरवासीलाई त्यसतर्फ ध्यान दिन अपिल गरे ।

 धनगढी उपमहानगरपालिका प्रवत्ता सन्तोष मुडभरीका अनुसार वडा नं ५ को पञ्चोदय मावि, वडा नं ६ को वाशुदेवी मावि, वडा नं ७ को बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, वडा नं १ को कवडहल, वडा नं १ को टिम्वर कर्पोरेशन नजिक र वडा नं ४ को राष्ट्रिय तुलसीराम माविमा क्याम्प राखेर स्वाव संकलन गरिएको छ । यस अभियानमा कोभिड उपसमितिका संयोजक नारायणप्रसाद बराल र स्वास्थ्यकर्मीको टोली फिल्डमा खटिएको प्रवत्ता मुडभरीले बताए ।

 नगरपालिकाका स्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार संकलन गरिएका स्वाव मध्य केही स्वावको मात्र परिक्षण भएको र वाँकीको नतिजा भोली सम्म आउने बताए ।