धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

वडाअध्यक्षद्वारा गाउँपालिकामा तालाबन्दी

वडाअध्यक्षद्वारा गाउँपालिकामा तालाबन्दी

दार्चुला

दार्चुलाको व्याँस गाउँपालिकाको कार्यालयमा वडाअध्यक्षले ताला लगाएका छन् ।

 व्यास गाउँपालिका३ का वडाअध्यक्ष उपेन्द्रसिंह धामीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । व्याँस गाउँपालिका३ सिनाका लागि स्वीकृत योजनालाई गाउँपालिकाले आफु खुशी शिर्षक परिवर्तन गरी रकमान्तर गरेपछि तालाबन्दी गर्नुपरेको वडाध्यक्ष धामीले बताए ।

 वडाबाट छनोट भएका योजनालाई वडा कार्यालय संग समन्वय नै नगरी गाउँ कार्यपालिकाको बैठकले शिर्षक परिवर्तन गर्दै रकमान्तर गर्ने निर्णय गरेको थियो ।

 गत १९ भदौमा गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीलाई योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता गर्न ज्ञापनपत्र बुझाउदाँसमेत कुनै सुनुवाई नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको वडाध्यक्ष धामीको भनाई छ ।

 वडाका जनताको आवश्यकता र मागका आधारमा छनोट गरिएका योजना वडा समिति र गाउँसभाबाट पनि स्वीकृत भइसकेको अवस्थामा गाउँकार्यपालिकाले मनोमानी ढंगले शिर्षक परिवर्तन गरी रकमान्तर गरेकोप्रति वडावासीले आक्रोश व्यक्त गरेका छन् ।

 व्याँस गाउँपालिका३ तुसरपानी बस्तीका पहिरो पीडितहरुले उचित राहत नपाएको भन्दै गाउँपालिकामा खर छानोमुक्त कार्यक्रमअन्र्तगत राखिएका जस्तापाता लगेका थिए । लक्ष्यभन्दा बढी जस्तापाता वडा नम्बर ३ मा गएपछि वडाको बजेट कटौती गरेर जस्तापाता थप्ने उद्देश्यले बजेट रकमान्तर गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

 व्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले गाउँपालिकाभरि वितरण गर्नका लागि ल्याइएका जस्तापाता आधाभन्दा बढी वडा नम्बर ३ मा गएपछि चालुतर्फका केही योजनाको बजेट रकमान्तर गरेर विपद् व्यवस्थापन कोषमा राख्ने र सोही रकमबाट थप जस्तापाता खरिद गर्ने निर्णय कार्यपालिका बैठकले गरेको बताए ।

 शुक्रबार गाउँपालिकामा तालाबन्दी भएपछि सो विषयमा छलफल गर्न आईतबार गाउँकार्यपालिका बैठक बोलाइएको उनले बताए । गाउँपालिकासंग विपद् ब्यवस्थापन कोष, आकस्मिक कोष भएको अवस्थामा वडाको योजना कटौती गर्नु अन्यायपूर्ण भएकोले उक्त कार्य रोक्न तालाबन्दी गरेको वडाअध्यक्ष धामीले बताए ।