धनगढी पोष्ट
आइतबार, २८ भदौ २०७७ मा प्रकाशित
धनगढी
कंचनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय भित्रै प्रहरी नायब निरीक्षक ९सई० सहित अन्य प्रहरी कुटिएका छन् ।
दिउसै स्थानीय चौतारोमा तास खेल्दै गरेका जुवाडेहरुलाई प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयमा ल्याएपछि छुटाउन आएको जत्थाले प्रहरीमाथी ढुंगामुढा र हातपात गरेको प्रहरीले जनाएको छ ।
पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाका छोरा देवेन्द्र थापा , मेयरका स्वकीय सचीव भतिजा टेकबहादुर थापा , जितु थापा र हिमेश थापाको नेतृत्वमा आएको जत्थाले प्रहरी नायव निरीक्षक गोपाल बोहरा लगायतका प्रहरी माथी कुटपिट गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।
जुवाडे छुटाउन आएको जत्थाले प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेको र प्रहरी भ्यानको शिसा फुटाइएको प्रहरी निरीक्षक सिंहले बताए । उनले आक्रमणकारीको खोजी भईरहेको समेत बताए ।
प्रहरीले उल्टै आफु लगायत त्यहाँ गएको टोलीलाई नियन्त्रणमा लिएर लठ्ठी र बुटले कुटपिट गरेको मेयरका स्वकिय सचिब टेक थापाले बताए । उनले सई बोहराले आफु लगायत देवेन्द्र थापा र अन्यलाई निर्घात कुटपिट गरेको बताए । घटनाका बारेमा बुझ्न प्रहरी कार्यालयमा गएका बेला आफूहरुमाथी प्रहरीले निर्घात कुटपिट गरेको टेकबहादुर थापाले बताए ।
इलाका प्रहरी कार्यालयमै कुटपिटको घटना भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापा नेतृत्वको टोली राति साढे ११ बजे पुनर्वास पुगेको थियो ।