धनगढी पोष्ट
आइतबार, ३२ जेठ २०७७ मा प्रकाशित
धनगढी
आफ्नै दलका प्रदेश सभा सदस्यहरुको चर्को आलोचनाबाट बच्न उनीहरुलाई विकास योजना बाड्ने मुख्यमन्त्रीको योजनामा भौतिक पूर्वाधार विकास मन्त्रालयले बाधा पु¥याएको छ ।
अन्य मन्त्रालयले प्रदेश सभा सदस्यहरुका योजना समेटे पनि भौतिक पूर्वाधार विकास मन्त्रालयले नियम र प्रक्रिया बिपरितका योजनाहरु नसमेट्ने भन्दै अडान लिएको छ । प्रदेश सभा सदस्यहरुलाई भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रत्येकलाई पाँच करोड बराबरको योजना बनाउन मुख्यमन्त्रीले भनेका थिए । भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बजेटको सिद्धान्त र नियम बिपरित अन्तिम समयमा आएका योजनाहरु समेट्न नसकिने अडानमा आइतबार बिहान सम्म पनि रहेका छन् ।
प्रदेश सभाको बजेट अधिबेशनमा पूर्व बजेट छलफलका क्रममा आफ्नै दलका प्रदेश सभा सदस्यहरुले विरोधमा बोल्न शुरु गरेपछि संसदीय दलको बैठक राख्दै मुख्यमन्त्री त्रिचोलन भट्टले समन्वय गर्न नसकेको भन्दै माफी मागेका थिए । त्यसपछि पार्टीका प्रदेशसभा सदस्यहरुसितको बिभिन्न पटकको अनौपचारिक छलफलमा हरेकलाई बिभिन्न मन्त्रालयमा ४ देखि ५ करोड सम्मका योजना बनाउन भनेका थिए । उनीहरुका लागि मात्रै झण्डै चार अर्ब बजेट छुट्ट्याउने मुख्यमन्त्रीको योजना छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले आफु मातहतका तल्लो तहका कार्यालय समेतको सहभागितामा आगामी बर्ष गर्न सकिने कार्यक्रम र बहुबर्षिय योजनाहरुमा राख्न सकिने बजेट राखेर कार्यक्रम बनाइसकेकोले कसैका योजनाहरु थप्न नसक्ने भन्दै प्रदेश सभा सदस्यहरुले बुझाएका योजनामा बजेट राख्न नमानेपछि केही प्रदेश सभा सदस्यहरु आफ्ना योजनाहरु भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा पार्न नेकपाका प्रभावशाली नेताहरु सम्म पुगेको समाचार स्रोतले बताएको छ । भौतिक पूर्वाधार विकास मन्त्री बोहरालाई दवाव दिन नेताहरुबाट फोन गराउने सम्मको काम भएको मन्त्रालय स्रोतले बताएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार आगामी आर्थिक बर्षका लागि गर्न सकिने काम र कार्यक्रम बनाइसकेपछि ल्याएका योजनाहरु समेट्न नसकिएको हो । एक्कासी अन्तिम समयमा योजना ल्याएर समस्यामा पार्न खोजिएपछि थन्क्याइएको मन्त्रालयका ती अधिकारीले जानकारी दिए ।
बजेटका लागि आवश्यक छलफल तथा परामर्शमा उपस्थित नहुने, तर गैर सैद्धान्तिक रुपमा योजना दिने काम भएपछि मन्त्रालयले नराखेको उनले बताए ।
बजेटको सिद्धान्त र मान्यता र राजनीतिक इमान्दारिता समेत बिर्सेर प्रदेश सभा सदस्यहरुले योजना बनाउने काम गलत भएको एक प्रदेश सभा सदस्यले बताए । आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै उनले सरकारको बजेट, नीति र नियमको समिक्षा गर्नपर्ने प्रदेश सभा सदस्यहरु नै बजेट र योजना माग्न र बजेट बनाउन थालेपछि बिकृति बढ्ने हुँदा यस्ता योजनाहरु बनाउन छुट दिन नहुने बताए ।
भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा भने प्रदेश गौरबका आयोजना, नियमित र क्रमागत योजना तथा अन्य महत्वपूर्ण पूर्वाधार निर्माणका काममा बजेट बिनियोजन गरेपछि मात्रै अन्य योजनाबारे सोच्ने पक्षमा छन् । उनी प्रदेश सभा सदस्यहरुका टुक्रे योजनामा बजेट नहाल्ने र हाल्नै परे यी सबै योजनामा बजेट पारि सकेपछि मात्रै हाल्ने पक्षमा छन् ।
मुख्मन्त्रीले भने अनुसार सबै सांसदलाई पाँच करोड बराबरका योजना बनाउन दिने हो मन्त्रालयलाई दुई अर्ब भन्दा बढी बजेट आवश्यक पर्ने मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आर्थिक बर्षका लागि तोकिदिएको सिलिङ भन्दा माथि मन्त्रालय जान नसक्ने र प्रदेश सभा सदस्यका टुक्रे योजनामा बजेट राख्दा महत्वपूर्ण योजनाहरुका लागि बजेट अपुग हुने स्थिति छ ।
सोमबार प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्दैछ ।