धनगढी पोष्ट
आइतबार, ३२ जेठ २०७७ मा प्रकाशित
धनगढी,
कञ्चनपुरको लालझाँडी गाउँपालिका स्थित क्वारेन्टाईनबाट घर गएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लालझाडी गाउँपालिका–४ स्थित स्वतन्त्र माविमा बस्दै आएका ११ जनालाई स्वाव संकलन गरी रिपोर्ट नआउँदै घर पठाइएको थियो । जेठ ३० गते घर पठाइएका उनीहरुको एक दिन पछि पोजेटिभ रिपोर्ट आएको हो । शनिवार कञ्चनपुरका २१ नयाँ संक्रमित मध्य १४ जना लालझाँडी गाउँपालिकाका रहेका थिए । ती मध्य ११ जना घर पठाइएका व्यक्ति रहेका गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए ।
उनले क्वारेन्टाईनमा बसेका नागरिकहरुले आफुलाई घर पठाईदिन चर्को दवाव दिए पछि वडा अध्यक्ष र सुरक्षाकर्मीको रोहबरमा ११ जनालाई सेल्फ क्वारेन्टिनमा बस्ने वाचा सहित पठाइएको बताए । कोरोना पोजेटिभ देखिएसंगै ती सवै ११ जनालाई पुनः क्वारेन्टिनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
अध्यक्ष बडायकले क्वारेण्टाईनमा रहेका नागरिकको स्वाव संकलन पछि ढिला गरी नतीजा आउँदा व्यवस्थापनमा समस्या भएको बताए । घरपठाइएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि लालझाडीका स्थाानीय वासी त्रसित बनेका छन् ।