धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

धनगढी

  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेशमा संक्रमितको संख्या ७ हजार नाघेको हो ।

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८८ पुगेको छ । शुक्रबार प्रदेशका बिभिन्न जिल्लामा रहेका पाँच वटा प्रयोगशालामा ८ सय ७७ जनाको कोरोना परीक्षण गरिएकोमा ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन सय २७ जनाको कोरोना परीक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ६ र १० का एक÷एक जना, गोदावरी नगरपालिका वडा नम्बर ११, टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का एक जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले केदास्यु गाउँपालिकाका ९ जना, थलारा गाउँपालिकाका ८ जना, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको बताए ।  प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६२ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

यस्तै  जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४८ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको आदर्श गाउँपालिकाका दुई जना, अछामको बान्नीगढीका २० र चौरपाटीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

 यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा १८ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोेर्ट नेगेटिभ आएको छ ।