धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा शुक्रवार १२० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा शुक्रवार १२० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

  शुक्रबार कैलालीका ९१ जना सहित सुदूरपश्चिमका थप एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल सहित प्रदेशका डोटी र बैतडी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

  सेती प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार   धनगढी उपमहानगरपालिका ३६ जना, गोदावरी नगरपालिका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना, घोडाघोडी नगरपालिकाका चार जना र बर्दगोरिया गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको   हो ।

 यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनरवास र झलारीका एक÷एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ । यस्तै सेतीकै परिक्षणमा दार्चुलाको ब्यासका थप एक जनामा पनि संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रयोगशालामा चार सय ८२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

  दार्चुला र बैतडीका थप १७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालमा पछिल्लो २४ घण्टामा ४४ जनाको परीक्षण गरिएकोमा दुवै जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले दार्चुलाको महाकाली नगरपालिकाका ११ पुरुष र तीन महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै लेकम गाउँपालिका, बैतडीको पाटन नगरपालिका वडा नम्बर  ३  र सिगास गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

  उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको सायल र आदर्श गाउँपालिकाका दुई÷दुई जना र अछामको चौरपाटी र कमलबजारका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गरिएको थियो ।

 यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ४ सय ९६ पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ  । मन्त्रालयका अनुसार प्रदेशभरी संक्रमण पुष्टि भएका मध्य ६ हजार दुई सय भन्दा बढिले कोरोना जितेका छन् ।