धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बुधबार सुदूरपश्चिममा थप ११९ जनामा संक्रमण पुष्टि

बुधबार सुदूरपश्चिममा थप ११९ जनामा संक्रमण  पुष्टि

धनगढी

  सुदूरपश्चिम प्रदेशमा बुधबार थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशाला सेती,डडेल्धुरा र बझाङमा गरिएको परिक्षणमा १ सय १९ जना संक्रमित थपिएका हुन् ।

   सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको छ ।  सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

 बिज्ञप्ती अनुसार धनगढीमा वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का तीन÷तीन जना, वडा नम्वर १ का दुई जना, वडा नम्वर २ र ४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

 यस्तै कैलालीकै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्वर १ का दुई जना र भजनी नगरपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ । यस्तै सेतीकै परिक्षणमा कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

 बुधबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला ईन्चार्ज ईशवरी प्रसाद भुषालका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८ जनाको स्वाव परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । जसमा दार्चुलाको महाकाली नगरपालिकाका ४६ जना र डोटीका २ जना रहेको प्रयोगशाला ईन्चार्ज भुषालले जानकारी दिए ।

 दार्चुलाका ४६ मध्ये ४५ जना सशस्त्र प्रहरी बल नम्वर ४४ गण दार्चुलामा कार्यरत सशस्त्र प्रहरी रहेका छन् । यसैगरी जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जना थलारा गाउँपालिकाका हुन् ।