धनगढी पोष्ट
शुक्रबार, ३० असोज २०७७ मा प्रकाशित
धनगढी
शुक्रबार सुदूरपश्चिम प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका डडेल्धुरा,सेती प्रादेशिक अस्पताल र बझाङ जिल्ला अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तिन वटै अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको परिक्षणमा डडेल्धुरा र दार्चुलाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ सय ६२ जनाको स्वाव परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालद्वारा जारी विज्ञप्ति अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका २ जना, अमरगढी नगरपालिकाका ३ जना, आलिताल गाउँपालिकाका १ जना र दार्चुलाको महाकाली नगरपालिकाका ३ जना रहेका छन् ।
यसै गरी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टाको अवधिमा ६ सय ३७ जनाको स्वाव परिक्षण गर्दा कैलालीका ४३ सहित थप ४७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालद्धारा जारी बिज्ञप्ती अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका ३६, गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका–३ का एक जना र पहिचान नखुलेका ३ जना रहेका छन् ।
सेतीकै परिक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नरवास नगरपालिका– ३ का एक जनामा पनि संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।
यसै गरी शुक्रबार नै अछाम र बझाङका २२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।