धनगढी पोष्ट
मङ्गलबार, ०२ असार २०७७ मा प्रकाशित
धनगढी
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले स्वास्थ्य सामग्री आपुर्तिको उचित ब्यवस्था गर्न माग गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रदेशको प्रमुख प्रतिपक्षी दल समेत रहेको नेपाली कांग्रेसको संसदीय दलले कोभिड १९ का कारण जोखिममा रहेका नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरुको चाँडो आपुर्ति गर्न माग गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै प्रदेश संसदीय दलका नेता रण बहादुर रावलले पिसिआर परीक्षणको दायरा बढाउन र त्यसका लागि आवश्यक परीक्षण कीट, उपकरण र जनशक्तिको ब्यवस्थापन गर्न माग गरे ।
क्वारेन्टिनहरु अब्यवस्थित रहेको र पछिल्लो समय महिलाहरुका लागि असुरक्षित समेत बनिरहेकोले उचित ब्यवस्थापन गर्न समेत माग गरिएको छ । विदेशबाट आएका नागरिकहरुको उद्धार, कृषि क्षेत्र र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्न र प्रदेश भित्रै रोजगारीको ब्यवस्था गर्न समेत कांग्रेसको संसदीय दलले माग गरेको छ । एकल महिला, अपाङ्गता भएका नागरिक, श्रमिक, विद्यार्थी र डेरामा बसिरहेकाहरुलाई राहत बितरण र सरकारले गर्ने सबै प्रकारको खर्चमा पारदर्शिता देखाउन माग गरिएको छ ।
ज्ञापन पत्र बुझेपछि मुख्यमन्त्री भट्टले नियम अनुसार खरिद गर्दा प्रक्रिया लामो भएकोले पिसिआर मेसीन किन्न ढिलाई भएको भए पनि परीक्षण भइरहेको बताए । उनले दैनिक २५० नमुना प्रदेशमै जाँच भइरहेको र २ हजार भन्दा बढी नमुना जाँचका लागि काठमाण्डौ पठाइएको बताए ।
मुख्यमन्त्री भट्टले कांग्रेस संसदीय दलले उठाएका बिषयप्रति आफु सकारात्मक रहेको समेत बताए ।