धनगढी पोष्ट
शुक्रबार, २८ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
कैलालीका ५० सहित सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार अछामको कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा अछामका १ जना, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका ७ जना, जिल्ला अस्पताल डोटीमा गरिएको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
यसै गरी शुक्रबार नै सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय ९७ जनाको स्वाव परिक्षणमा कैलालीका ५०, कञ्चनपुर र डोटीका १÷१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्ब १ र २ का ३÷३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ५ का ५ जना र पहिचान नखुलेका धनगढीका ४ जना रहेका छन् ।
यसै गरी कैलालीको टिकापुर नगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका २ जना, घोडाघोडी नगरपालिकाका ३ जना, बर्दगोरिया गाउँपालिकाका ६ जना र चुरे गाउँपालिका तथा मोहन्याल गाउँपालिकाका १÷१ जनामा पनि शुक्रबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
शुक्रबार नै सेतीको परिक्षणमा कञ्चनपुरको पुनरवास नगरपालिकाका १ र डोटीको के.आई.सिंह गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १ हजार ४ सय ५ पुगेको छ । जसमध्य ८ हजार ७ सय ७७ जना संक्रमण मुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । हाल सुदूरपश्चिमका ९ वटै जिल्ला गरी १ हजार ५ सय ९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।