धनगढी पोष्ट
मङ्गलबार, ३० मङि्सर २०७७ मा प्रकाशित
धनगढी
अछामको रामारोसन गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एक साताका लागि सिल गरिएको छ ।
पालिकाका केही कर्मचारी र अन्य स्थानीय नागरिकमा कोरोना देखिएपछि गाउँपालिका एक हप्ताका लागि सिल गरिएको हो । कोरोना संक्रमणको उच्च जोखिम कम गर्नकालागि हाललाई पौष ५ गतेसम्म लागू हुनेगरी एक हप्तासम्म गाउँपालिका भित्रका बजार क्षेत्र, शैक्षिक संस्था र बैङ्क तथा वित्तीय संस्था बन्द हुने रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए ।
गाउँपालिका अन्तरगतका विद्यालयहरूमा पठन पाठन नगर्ने, बजार क्षेत्र सबै बन्द गर्ने तर बिहान ८ बजे देखी ११ बजे सम्म खाद्य उपभोगका पसलहरू सञ्चालन गर्ने, यातायातका साधनहरू सञ्चालन गर्दा स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नुपर्ने, पालिका क्षेत्रभित्र कुनैपनि सभा, समारोह,सम्मेलन, मेला पर्व र भोजभतेर गर्न नपाइने र बैँक तथा वित्तीय संस्थाहरूमा समेत मानिसहरूको भिड हुँदा कोरोना भाइरसको जोखिम उच्च बढ्ने देखिएकाले बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।