धनगढी पोष्ट
शुक्रबार, ०३ पुष २०७७ मा प्रकाशित
धनगढी
जिल्ला अदालत कैलालीको फैसला उल्टाउँदै उच्च अदालत दिपायलले टीकापुर घटनाको फैसलामा लक्ष्मण चौधरी सहितका नेतालाई जन्म कैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत कैलालीले २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा निलम्बित सांसद रेशम चौधरीसहित १० जनालाई जन्मकैद फैसला सुनाए पनि नेता लक्ष्मण थारुलाई तीन वर्ष कैद सजाय सुनाएको थियो । उनी कैद भुक्तान गरी रिहा भएका छन् ।
तर, उच्च अदालतका न्यायाधीद्वय सीताराम मण्डल र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार उक्त फैसला उल्ट्याएर लक्ष्मणलाई जन्मकैद फैसला सुनाएको हो ।
उच्च अदालतको फैसलाको संक्षिप्त व्यहोरामा भनिएको छ, ’अर्का प्रतिवादी लक्ष्मण थारुले घटनाको योजना बनाइ नेतृत्व लिइ निर्दाेष राष्ट्रसेवक प्रहरी अधिकृत, कर्मचारी तथा निर्दाेष बालकको ज्यान लिने गरी भएको विभत्स घटना घटाउन घटनास्थलमा उपस्थित समेत भई बचन दिएको तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भै रहेको अवस्थामा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नम्बर कसुरमा सोही महलको १७ (३) नम्बर बमोजिम सजाय हुने ठहर्याइ भएको सुरु अदालतको फैसला मिलेको नदेखिँदा निजको हकमा केही उल्टि भइ निज प्रतिवादीलाई अभियोग मागदाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नम्बर सोही महलको १३ .(४) नम्बर बमोजिम जन्मकैद हुने ठहर्छ ।’
साथै उच्च अदालतले लक्ष्मणलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद फैसला सुनाएको छ । सरकारले उनीविरुद्ध डाँका चोरी मुद्दा समेत चलाएको थियो । तर, यो कसुरमा पुनरावलोकन जिकिर नपुगेको उच्च अदालतको ठहर छ । २०७२ मा भएको घटनामा जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ मा रेशमसहितलाई जन्मकैद फैसला सुनाएको थियो । रेशमको हकमा भने जिल्ला अदालतको फैसला सदर भएको छ । आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो । त्यसक्रममा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
घटनाको अभियोगमा सांसद चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो ।