धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

संक्रमित घट्दा कोरोना संक्रमणका गम्भिर विरामी बढे

संक्रमित घट्दा कोरोना संक्रमणका गम्भिर विरामी बढे

धनगढी

 सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण हुनेका संख्या घट्दै जाँदा गम्भिर प्रकृतिका कोरोना संक्रमित बिरामीको दर बढ्न थालेको छ ।

 पछिल्लो १ साता यता सुदूरपश्चिममा दैनिक एक सय भन्दा कम व्यक्तिमा संक्रमण पुष्टिहुँदा दैनिक १५ जनाभन्दा बढी व्यक्तिमा गम्भिर प्रकृतिका लक्षण देखापर्नथालेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना रोगथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका मापदण्ड पालना नहुँदा संक्रमण भएका मध्य गम्भिर विरामीको संख्या बढ्न थालेको स्वास्थ्य विज्ञ बताउँछन् ।

 यसका साथै चिसो बढ्दै गएपछि कोरोना संक्रमित हुने मध्य गम्भिर प्रकृतिका बिरामी बढ्न थालेका सुदूरपपिश्चम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले बताए ।

  उनका अनुसार मंसिर यता कोरोना संक्रमित हुने मध्य १५ प्रतिशत बढी विरामीमा गम्भिर प्रकृतिका रोगका लक्षण देखा पर्न थालेको छ । नागरिकले स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा बिर्सेका छन् उनले भने–‘रोगले च्यापेपछि मात्रै परिक्षण गराउन थालेका छन्, जसले गर्दा संक्रमणदर घटे पनि गम्भिर प्रकृतिका विरामी बढ्न थालेका छन् ।

 उनले चिसो बढ्दै जाँदा संक्रमण भएका विरामीमा गम्भिर प्रकृतिका लक्षण देखिने क्रम बढी हुने गरेको बताए । कोरोना संक्रमणबाट बच्न नागरिकले चिसो याममा अझै सावधानी अपनाउन जरुरी छ, उनले भने–‘अहिलेको लापर्वाहीले रोगको जोखिम हुने र मृत्युदर बढ्ने संभावना उच्च छ  ।

 सामाजिक विकास मन्त्रालयका अनुसार हाल सुदूरपश्चिममा ३ सय ६३ जनालाई आइसोलेसनमा राखेर उपचार गराइदै आएको   छ । प्रबक्ता कार्कीका अनुसार चिसो सुरु भएसंगै कोरोना संक्रमण भएका विरामीले आइसियु भरिन थालेका छन् ।

  सुदूरपश्चिममा हाल १७ वटा आइसोलेसन कक्ष र २ हजार ३ सय २१ वेड रहेका छन् उनले भने–‘पछिल्लो समय सवै आईसोलेसन कक्ष भरिभराउ हुन थालेका छन्, सजकता नअपनाए समस्या झनै बढ्न सक्दछ ।

८० प्रतिशत कोरोना संक्रमित निको भए

 सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण निको हुने करिव ७९ प्रतिशत पुगेको छ ।

 हाल सुदूरपश्चिम प्रदेशमा १२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १० हजार १ सय ४७ जना संक्रमण मुक्त भएर घर गएका छन् । निको हुने दरलाई प्रतिशतमा ढाल्दा ७९ दशमलव ७३ प्रतिशत हुने सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्र सिंह कार्कीले बताए । उनले सुदूरपश्चिमका नागरिकको रोग प्रतिरोधात्मक क्षमता देशका अन्य स्थानका नागरिकको भन्दा राम्रो हुँदा निको हुने दर बढेको बताए ।

 ‘पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमण दर पनि घटेको छ उनले भने–‘पुराना संक्रमित निको भएर जाँदा पनि निको हुदेदर बढेको हो, हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि उच्च छ ।

 सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा हाल २ हजार ५ सय ६६ जनामा सक्रिय कोरोना संक्रमण रहेको छ । सक्रिय संक्रमण दर बढी हुने जिल्ला कैलाली छ भने न्युन हुने जिल्ला बाजुरा रहेको छ । बाजुरामा ५२ जना सक्रिय संक्रमित छन् भने कलालीमा ७ सय १ जना सक्रिय संक्रमित रहेका  छन् ।

 मन्त्रालयद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार हाल अछाममा ३ सय ३९, बैतडीमा १ सय ७, बझाङमा ३ सय ६०, डडेल्धुरामा २ सय ८३, दार्चुलामा २ सय ६२, डोटीमा १ सय ९० र कञ्चनपुरमा २ सय २९ जनामा कारोनाको सक्रिय संक्रमण रहेको छ । भने विभिन्न जिल्लामा रहेर उपचार गराइरहेका सुदूरपश्चिमका ४१ जना तथा विदेशमा २ जनामा समेत कोरोना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 सुदूरपश्चिम प्रदेशमा हाल सम्म १ लाख २७ हजार १४ जनाको स्वाव संकलन गरिएकोमा १ लाख २६ हजार ४ सय २२ जनाको स्वाव परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । परिक्षण गरिएका मध्य १ लाख १३ हजार ६ सय ६३ जनामा कोरोना संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

४६  जनाको मृत्यु

 सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ४६ जनाको मृत्यु भएको छ ।

 सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीमा सवैभन्दा बढी संक्रमितको मृत्यु भएको छ । हाल सम्म कैलालीमा २५, कञ्चनपुरका ७, अछाम, बाजुरा र दर्चुलाका २÷२ जना, डडेल्धुरा र बझाङका ३÷३ जना तथा डोटी र बैतडीका १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।