धनगढी पोष्ट
शुक्रबार, १० पुष २०७७ मा प्रकाशित
धनगढी
मन्त्री मण्डलका दुई मन्त्रीलाई बिदाई गर्दै प्रधानमन्त्री के पी शर्मा ओलीले सात नयाँ मन्त्री थप गरेका छन् । थपिएका मन्त्रीमा तीन जना सुदुरपश्चिमका रहेका छन् ।
सुदुरपश्चिमको डोटीबाट निर्वाचित प्रेम आले बन मन्त्री र दार्चुलाबाट निर्वाचित गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री नियुक्त भएका छन् । कैलालीको क्षेत्र नम्बर ३ बाट निर्वाचित गौरीशंकर चौधरी श्रम मन्त्रीमा नियुक्त भएका छन् ।
गौरीशंकर यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुदा कृषिमन्त्री रहेका थिए । ठगुन्ना र आले पहिलो पटक मन्त्री बनेका हुन् ।
बिस्तारित मन्त्रीमण्डलमा उर्जा, जलश्रोत तथा सिचाई मन्त्रीमा टोप बहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शहरी बिकास मन्त्रीमा प्रभु साह, युवा तथा खेलकुद मन्त्रीमा दावा लामा, महिला तथा बालबालिका मन्त्रीमा जुली कुमारी महतो र उद्योग राज्यमन्त्रीमा बिमला बिश्वकर्मा नियुक्त भएका छन् ।
यसअघिका युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा र उद्योगराज्यमन्त्री मोती दुगडलाई हटाइएको छ ।
यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्री, संघीय मामिला मन्त्री ह्दयश त्रिपाठीलाई स्वास्थ्यमन्त्री, महिला तथा बालबालिका मन्त्री लिलानाथ श्रेठलाई कानुन मन्त्री ,कानुन मन्त्री शिबमाया तुम्बाहाम्फेलाई भुमिसुधार मन्त्री र भुमिसुधार मन्त्री पद्मा अर्याललाई कृषि मन्त्री नियुक्त गरिएको छ ।