धनगढी पोष्ट
आइतबार, १२ पुष २०७७ मा प्रकाशित
धनगढी
फुटको दिंशातर्फ गइरहेको शत्तारुढ पार्टी नेकपामा एक पछि अर्को गर्दै मुख्यमन्त्री विरुद्ध अविश्वासको मत दर्ता हुनथालेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड माधव पक्षले आइतबार प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध समेत प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालिन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित भएका थिए ।
शनिवार मात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्ताबक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । अहिले प्रचण्ड(माधव नेपाल पक्षका नेताहरु प्रदेशसभा सचिवालयमा छन् । दर्ता प्रक्रिया चलिरहेको एक नेताले जानकारी दिए ।
आजै राई मन्त्रिपरिषदका तीन मन्त्रीले राजिनामा दिएका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड(माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।