धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

प्रचण्ड–माधब समुहले गर्यो ओली समुहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापा लगायत ४ जिल्लाका अध्यक्षलाई कारवाही

प्रचण्ड–माधब समुहले गर्यो ओली समुहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापा लगायत ४ जिल्लाका अध्यक्षलाई कारवाही

धनगढी

  नेकपा प्रचण्डमाधब समुहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले ओली समुहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापा सहित ४ जिल्लाका अध्यक्षलाई कारवाही गर्ने निर्णय गरेको छ ।

 शुक्रबार धनगढीमा बसेको नेकपा प्रदेश कमिटिको चौथो बैठकले पार्टी बिधान विपरित काम गरेको भन्दै ओली समुहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापा, कैलाली अध्यक्ष रतन थापा, कञ्चनपुर अध्यक्ष बिरबहादुर थापा, बैतडीका अध्यक्ष शुरेन्द्र पाल र बाजुरा जिल्ला कमिटि अध्यक्ष काली बहादुर शाहीलाई कारवाही गर्ने निर्णय गरेको हो । उनिहरुलाई कारवाहीका लागि केन्द्रिय कमिटिमा सिफारिष समेत गरेको छ ।

 यसैगरी केपी ओलीले गरेको संघिय संसद विघटनका विरुद्ध थप आन्दोलन गर्ने र सवै नेता कार्यकर्तालाई समेटेर एकजुट हुने निर्णय समेत गरिएको नेकपा सुदूरपश्चिम कमिटिले जनाएको छ ।

  कारवाही गरिएका प्रदेश अध्यक्ष तथा जिल्ला कमिटि अध्यक्षको ठाउँमा कस्लाई ल्याउने भन्ने विषयमा भने छलफल भइरहेको जनाइएको छ । बैठक नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका सचिव नेपबहादुर चौधरीको अध्यक्षतामा बसेको थियो ।

  बैठकमा प्रदेश इन्चार्ज भीम रावल, सहइन्चार्ज भानुभक्त जोशी, खगराज भट्ट, लक्ष्मण जोशी लगायत केन्द्रिय कमिटि सदस्यको उपस्थिती रहेको थियो । बैठकले गरेका निर्णयको पूर्ण जानकारी शनिबार पत्रकार सम्मेलन मार्फत गराइने सहइन्चार्ज भानुभक्त जोशीले बताए ।

 ओली समुहले यस अघि नै प्रचण्डमाधब समुहमा लागेका प्रदेश ईन्चार्ज भीम रावललाई कार्वाही गरि लेखराज भट्टलाई प्रदेश संयोजक बनाई सकेको छ ।