सुदूरपश्चिममा स्वास्थ्य निर्देशक बाट सुरु भयो खोप अभियान

धनगढी
 सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले पहिलो खोप लगाएर खोप अभियानको सुरुवात गरेका छन् ।

 मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेपछि पहिलो खोप स्वास्थ्य निर्देशक अवस्थीले लगाएका हुन् । काठमाडौँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि अभियान शुभारम्भ भएको घोषणा गरेका हुन् । 
 कैलालीमा २ सहित प्रदेशका १० वटा खोप केन्द्र मार्फत अभियान सुरु भएको घोषणा गरिएको छ । 
संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको थियो ।

 आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यानमार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई २ चरणमा लगाउन मिल्नेगरी कोरोना विरुद्धको खोप पठाएको सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले बताए ।
 


ट्रेन्डिङ