धनगढी पोष्ट
सोमबार, १९ माघ २०७७ मा प्रकाशित
धनगढी
नेपाली काँग्रेसले संसद विघटनको विरुद्धमा देशभर प्रदर्शन गरेको छ । देशव्यापी प्रदर्शन अन्र्तगत कैलालीको धनगढीमा पनि प्रर्दशन गरिएको छ ।
धनगढीको चौराहबाट शुरु भएको बिरोध प्रदर्शन पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो । सभामा काँग्रेस महासमिति सदस्य तथा पुर्व मन्त्री समेत रहेका जनक चौधरीले कम्युनिष्टका कारण जनताले दुःख पाएको बताए ।
‘जनताले कम्युनिष्टलाई दुई तिहाईको जनमत दिए, तर, देशलाई अस्थितरता तर्फ धकेल्ने काम वाहेक अरु केहि गरेनन्’ चौधरीले भने– ‘संविधानलाई लत्याएर संसद विघटन गरेपछि काँग्रेस सडकमा आउन बाध्य भएको छ ।’ कम्युनिष्ट सरकारले काण्ड काण्डै घटाउन वाहेक कुनै पनि काम नगरेको उनले आरोप लगाए । सुन काण्ड, निर्मला बलात्कार काण्ड, बालुवाटार जग्गा काण्ड लगायतले गर्दा कम्युनिष्ट सरकार जनताको नजरमा गिरेको उनले बताए ।
कार्यक्रममा काँग्रेस कैलालीका जिल्ला सचिव पूर्ण कुँवर, धनगढी उपमहानगरपालिका मेयर शुशीला मिश्र भट्ट, तरुण दलका नेता दिपेन्द्र वम, नेता गोपाल देउवा, महिला संघ कैलालीका अध्यक्ष पुष्पा भट्ट लगायतले सम्बोधन गरेका थिए । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन ।