धनगढी पोष्ट
मङ्गलबार, १८ फागुन २०७७ मा प्रकाशित
जनता समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले अब रेशम चौधरीलाई रिहाई नगरे हजारौ पहिचानधर जेल जान तयार रहेको बताएका छन् ।
उनले अधिकार र पहिचानका लागि गरिएको आन्दोलनका कारण रेशमलाई जेल राखिएकाले अब हजारौ पहिचानधर जनता जेल जान तयार रहेको बताए ।
मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले रेशमको रिहाई नभए अब जेल भराउ आन्दोलन सुरु गर्ने बताए । उनले भने–‘हामी सबै जेल जान्छौ, यि शासकहरुले कहाँ राख्छन, सधै शासन गरेर दवाउन खोज्ने दिन गए ।’ सबैभन्दा बढी अत्याचार थारु माथि भएको उल्लेख गर्दै नेता महतोले अब अधिकारका लागि निर्णयक आन्दोलन हुने बताए । नेता महतोले भने– ‘घाँटी काटने केपी ओली, १७ हजार मान्छे मार्ने आन्दोलनको नेतृत्व गर्ने प्रचण्ड प्रधानमन्त्री बन्ने र शासन गर्ने थारुको मुक्तिको लागि आन्दोलन गर्ने रेशम चौधरी, लक्षमण थारु लगायत अपराधि हुने, यो नेपालका शासकको जनतालाई माथि उठन नदिने षडयन्त्र हो अब धेरै टिक्दैन ।’
‘नेपालमा सबै समस्याको जड संबिधान र शासन हो’ नेता महतोले भने–‘७ वटा संबिधान बन्दा पनि जनताको संबिधान बनेन, गणतन्त्र आउँदा पनि जनताको शासन आएन, अब यी सबै समस्याको समाधानका लागि आन्दोलनको बिकल्प छैन ।’ संबिधान र शासन परिबर्तन भए पनि बिचार र ब्यबहारमा परिबर्तन नभएको महतोको भनाई छ ।
नेपालमा जुनसुकै वेला पनि केही प्रतिगमन हुनसक्ने बताउँदै नेता महतोले भने–‘त्यो प्रतिगमन जनताका प्रतिनिधि बाटै हुने छ ।’ महतोले भने–‘यो देशमा नैतिकता नै छैन, नैतिकता भएको भए केपि ओली राजिनामा दिन्थे ।’ नेकपाले दुनियाँलाई झुक्याउने काम गरेको बताउँदै नेता महतोले भने–‘नेकपाले देशलाई गोलचक्करमा फसाएको छ, यसबाट निकास पाउन निकै समस्या भएको छ ।’
नेकपाको प्रचण्ड माधब समुहले सत्ता समिकरणका लागि गरेको प्रस्तावबारे नेता महतोले भने–‘कि पार्टी फुटाउनु प¥यो, कि केपिलाई हटाउनु प¥यो अनि मात्र छलफल हुन्छ, नभए कुनै औचित्य छैन ।’