धनगढी पोष्ट
आइतबार, ०१ चैत २०७७ मा प्रकाशित
धनगढी
जिल्ला अदालत कैलालीको फैसला उल्टाउँदै उच्च अदालत दिपायलले आजीवन कारावासको सजाय सुनाएपछि भूमिगत रहेका लक्ष्मण थारुले आफुहरु माथी लागेका आरोप छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
‘अहिले टिकापुर घटना राजनीतिको केन्द्रविन्दुमा घुमिरहेको छ’ थरुहट थारुवान संघर्ष समितिका संयोजक समेत रहेका थारुले धनगढी पोष्ट संगको संवादका क्रममा भने–‘टिकापुर घटना राजनीतिक विषनै हो, यसलाई सम्बोधन गरिनुनै पर्दछ ।’
उनले बदलिदो राजनीतिक परिस्थितीमा टिकापुर मुद्धा पनि समाधान हुने गरी जसपाले वार्ता गरिरहेको बताए । ‘संसद विघटनको मुद्धालाई अदालतले उल्ट्याएपछि उत्पन्न राजनीतिक परिस्थिती त्यसमा पनि नेपका एमाले र नेकपा माओबादी अलग अलग भएपछि अहिले सत्ता समिकरणको प्रक्रिया सुरु भएको छ’ उनले भने–‘यो अस्वभाविक पनि हैन, किनकी बहुमत पु¥याउन सक्ने दलले मात्रै सरकार चलाउन पाउने छ । अहिले नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी केन्द्र पछिको चौथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) हो । सरकार गठनको ‘की’ का रुपमा जसपा रहेको छ ।’
यस्तो अवस्थामा टिकापुरको मुद्धा आउनु स्वभाविक भएको उनले बताए । ‘टिकापुर घटनालाई कसरी लिने, रेशम चौधरीको रिहाई किन गर्ने भन्ने कुरा सत्ताको लेनदेन संग जोडिएको विषय भने हैन’ उनले भने–‘यद्धपि समयले त्यो प्वाइन्टमा पु¥याएको छ, यो मौका गुमाउनु हुँदैन ।’
अहिले जसपा सत्ताको ‘की’ पोष्टमा भएका कारण टिकापुर घटनालाई सुल्झाउने उत्तम समय समेत भएको उनको भनाई छ । रेशम चौधरी जसपाकै सांसद भएका कारण जसपाले रेशम र टिकापुर घटनाका बारेमा सम्झौता गर्दा असहज मान्नु पर्ने अवस्था नरहेको बताउँदै उनले ओली, देउवा वा प्रचण्ड जो संग पनि द्वन्द न्यूनीकरणका लागि समझ्दारी गरी सरकार गठन अगाडी नै त्यो मुद्धालाई किनारा लगाइनु पर्नेमा जोड दिए ।
टिकापुर घटनाका विषयमा समझ्दारी गर्दा राजनीतिक दल पनि सम्मानित हुने र पिडामा परेका थारु समुदायले पनि सहानुभुती पाउने उनले बताए । टिकापुर घटना राजनीतिकरण हुन्छ त ? भन्ने धनगढी पोष्टको प्रश्नको जवाफ दिंदै नेता लक्ष्मण थारुले टिकापुर घटना विशुद्ध राजनीतिक घटना नै भएको दावी गरे । ‘यो घटना लाई ढिलो चाँडो राजनीतिकरण गरिनु नै पर्ने हो’ उनले भने–‘अहिले नभए पनि एक दुई दनि ढिलो होला तर यो राजनीतिक घटना नै हुने छ, त्यसैका लागि हामीले विगत ५ बर्ष देखी लगातार यसको निकासका लागि पहल गर्दै आएका छौं ।’
पछिल्लो राजनीतिक घटना क्रम पछि जसपा नमिलेर कसैको पनि सरकार बनने स्थिती नरहेका बताउँदै उनले चाहे एमोलेका अध्यक्ष केपी ओली नेतृत्वमा बनेको सरकारको निरन्तरता होस् वा नयाँ सरकार गठन प्रक्रियामा जाँदा पनि जसपाको साथ चाहिने बताए । यही मौकामा जसपाले आफ्ना मागहरु बलियो ढंगले प्रस्तुत गर्न सक्ने उनले बताए ।
‘ओलीको नेतृत्वमा बन्ने सरकार होस् वा कांग्रेस माओबादी केन्द्र मिलेर बन्ने सरकार होस् दुवै समुहका लागि जसपा ‘चावी’ जस्तै निर्णायक भूमीकामा छ’ उनले भने–‘यस्तो अवस्थामा राजपाले टिकापुर घटनाको मुद्धालाई प्रमुख एजेण्डामा राखेको छ, त्यही भएर हामी पनि आसाबादी बनेका छौ ।’
उनले जसपामा अन्तर संघर्ष भएपनि दुई खेमामा जाने परिस्थिती भने नरहेको बताए । ‘मैले मिडिया मार्फत जसपाको विरोध पढको छु’ उनले भने–‘पार्टी भित्र त्यसतो प्रकारको अन्तर संघर्ष हुनु स्वभाविक हो, तर समग्रमा जसपा भित्र संविधान संशोधन र टिकापुरको मुद्धामा सवैको साझा धारण छ, त्यसैले एक ढिक्का नै हुनेछन् ।’
अहिलेको परिस्थितीमा जसपाले सरकारमा जानै पर्ने बाध्यता रहेको बताउँदै उनले जसपा बाहिर बसेमा नयाँ सरकार बन्ने अवस्था निककै न्यून रहेको बताए । ‘यस्तो अवस्थामा जसपा एक ढिक्का हुन आवश्यक छ’ उनले भने–‘नेताहरुले त्यही गरुन भन्ने हाम्रो चाहना हो ।’