सरकार संग वार्ता गर्न रेशम चौधरीको संयोजकत्वमा बार्ता टोली

धनगढी

     टीकापुर घटनाका  बारेमा सरकार वार्ता गर्न  ईच्छुक भएको भन्दै रेशम चौधरीको संयोजकत्वमा बार्ता टोली गठन गरिएको छ ।

 टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तानपछि रिहा भएकाहरू, कारागारमा रहेकाहरूका परिवार र फरार रहेका लक्ष्मण थारू   सहित भएको भेलाले यो मुद्दाबारे सरकार वार्ता गर्न इच्छुक देखिएको भन्दै वार्ता समिति गठन गर्ने निर्णय गरेको हो ।

   भेलाले कारागारमा रहेका सांसद रेशम चौधरीको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको हो । समितिको सदस्यमा लक्ष्मण थारू, रामप्रसाद चौधरी, चुन्नीराम थारू, बिना चौधरी र यमुना चौधरी छन् । सरकार अहिले वार्ता गर्न सकारात्मक देखिएको छ र टीकापुर घटना वार्ताबाट समाधान गर्न चाहेको छ, त्यसैले वार्ता समिति गठन गरेका हौँ, लक्ष्मण थारूले भने– ‘सरकारको पहलको हामी स्वागत गर्दछौँ ।  जेल परेका हाम्रा साथीहरूलाई ससम्मान रिहा गरिनुपर्छ ।

 सरकारले मुद्दा फिर्ता नलिए फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतमा अपिल गर्ने निर्णय पनि भेलाले गरेको छ । एक महिना भित्रै न्यायिक पुनरावलोकनमा जाने नेता थारूले जानकारी दिए । हामी शान्तिपूर्ण रूपमा टीकापुर विद्रोहको विषय समाधान गर्न चाहन्छौँ । सरकार तयार नभए थारू समुदाय सशक्त आन्दोलनमा जान्छ, उनले भने– ‘त्यसको जिम्मा सरकारले लिनुपर्छ ।

 टीकापुर घटनामा दोषी ठहर भएकाहरू र उनीहरूका परिवारले टीकापुर घटनाको मुद्दा सत्ताका लागि लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् । उक्त घटनामा आजीवन काराबारको सजाय भई फरार रहेका थारू नेता लक्ष्मण थारूको उपस्थितिमा कैलारी गाउँपालिकाको एक गाउँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकार बनाउने र भत्काउनेसँग यो मुद्दा नजोड्न आग्रह गरे ।

  टीकापुर घटनाको मुद्दा फिर्ताका विषयमा सरकार वार्ता गर्न तयार देखिएको भन्दै उनीहरूले स्वागत पनि गरेका छन् । थरुहटथारुवान मोर्चाका अध्यक्ष लक्ष्मण थारूले आफूहरूको मुद्दा सरकार गठनसँग जोडिन नहुने बताए ।