धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

चमेलिया  जलबिद्युतको सुरक्षामा नेपाली सेना

चमेलिया  जलबिद्युतको सुरक्षामा नेपाली सेना
चमेलिया जलबिद्युत आयोजनाको पावरहाउस

धनगढी

 दार्चुलाको शैल्यशिखर नगरपालिका१ मा रहेको चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा आजदेखि नेपाली सेना खटिएको छ । यसअघि सशस्त्र प्रहरीले सुरक्षा गर्दै आएको चमेलियामा आजबाट नेपाली सेना खटिएको हो ।

   २०७४ सालदेखि सशस्त्र प्रहरीको सुरक्षा जिम्मामा  रहेको चमेलिया जलविद्युत सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाउने सरकारको निर्णयपछि बलाँचमा रहेको जलविद्युतको सुरक्षाका लागि आजदेखि २० जनाको नेपाली सेनाको टोली खटिएको  दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिं कुवँरले जानकारी दिए ।

   सहायक प्रजिअ कुवँरले दार्चुलाको मार्मामा रहेको सेनाको पोष्टबाट १० जना र सदरमुकाममा रहेको सेनाको गुल्मबाट १० जना गरि २० जनाको टोली आजबाट जलबिद्युतको सुरक्षामा खटिएको बताए ।

  सरकारको केन्द्रीय नीति अनुरुप सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटिने भएपछि जलविद्युत र कारागारको सुरक्षार्थ नेपाली सेना खटिएको हो । यसअघि बलाँचमा सशस्त्र प्रहरीको डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरी खटिएको थियो । जिल्लामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट थपिने भएपछि त्यहाँ कार्यरत सशस्त्र प्रहरीलाई बोर्डर आउट पोष्टमा समायोजन गरिएको छ ।