धनगढी पोष्ट
शुक्रबार, ०५ असार २०७७ मा प्रकाशित
धनगढी
कैलालीको गौरीगंगा नगरपालिका १ को क्वारेन्टिनबाट भागेका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीगंगा नगरपालिका वार्ड नं १ स्थित पशुपति माविको क्वारेन्टिनबाट भागेर गएका उनीहरुमा बुधबार कोरोना पुष्टि भएको हो ।
‘भागेर घरमै बसिरहेकाहरुमा कोरोना भेटिएको छ ।’ गौरीगंगाका मेयर भीम देउवाले भने –‘अहिले पनि उनीहरु घरमै रहेका छन् ।’ धनगढीस्थित सेती प्रादेशिक अस्पतालले गत बुधबार गरेको परिक्षणमा गौरीगंगा नगरपालिकाका ती १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर देउवाका अनुसार जेठ १९ गते क्वारेन्टिनबाट भागेकाहरुमा कोरोना पुष्टि भएको हो । उक्त दिन क्वारेन्टिनबाट ५० जना भागेका थिए । उक्त क्वारेन्टिनमा जेठ ८, ९, १० र ११ गते भारतबाट फर्किएका व्यक्तिलाई राखिएको थियो ।
घरमै रहेकाहरुलाई कोेरोना पुष्टि भएपछि उनीहरु घरमै आइसोलेसनमा बसेर उपचार गरिने मेयर देउवाले बताए । ‘उनीहरुमा लक्षण केही देखिएको छैन, ल्याएर मात्रै के गर्ने ?’ मेयर देउवाले भने –‘उनीहरु घरमै बस्छन्, आवश्यक निगरानी स्वास्थ्यकर्मीले गर्छन् ।’
उनीहरुको कन्ट्यक्ट ट्रेसिङको काम भने अघि बढाइएको मेयर देउवाले बताए ।
गौरीगंगामा अहिलेसम्म ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।